काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनतालाई दुःखबाट मुक्त पार्न ३ उपाय प्रस्तुत गर्नु भएको छ । । प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनुभएको हो ।
‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन्’ उहाँले ,‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होईन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ । त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।’
७ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको स्पष्ट पार्नुभयो । उहाँले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकलाई उत्साहका साथ काम गर्न आग्रह गर्नुभयो । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले वैज्ञानिक तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहलाई उत्साहित पार्न असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरेको हो ।