कम्युनिष्ट एकताको आधार, जबजको सिर्जनात्मक पक्ष

तत्कालिन नेकपा (एमाले) र एकिकृत नेकपा (माओवादी) बिचको एकता सम्पूर्णतामा नेपाली कम्युनिष्ट आन्दोलनकै एक अति दुर्लभ र ऐतिहासिक बनेको छ । मुलुकमा लामो समय सत्ताको नेतृत्व गरेको दक्षिणपन्थि कित्ताको होसहवास उड्नेगरी सम्पन्न दुई कम्युनिष्ट पार्टीको एकताले देशभित्र मात्रै नभई अन्तराष्ट्रिय राजनीतिलाई समेत तरंगित बनायो । एकातिर बर्बर जनयुद्धको रत्ताम्य इतिहास बोकेको ताजा क्रान्तिकारी र अर्कोतर्फ शान्तिपूर्ण संसदीय संघर्षको पर्याय बनिसकेको कम्युनिष्ट पार्टीबीचको एकता निश्चयपनि चानेचुने परिघटना होइन् । माओवादी विचारधारालाई मुख्यरुपमा आत्मसात गरेको एउटा मनोविज्ञान र करिब तीन दशक अघि नै माओवाद छोडिसकेको अर्को मनोविज्ञानकाबीच कसरी अचानक एकता सम्भव भयो त ? यो नेपाली वाम आन्दोलनको सवार्धिक चासोको विषय बन्न पुगेको छ ।

राजनीतिको दक्षिणपन्थी कित्ता र केही वामपन्थी विश्लेषकहरुले समेत एमाले र माओवादी बिचको एकताको मुख्य आधार देशमा फस्टाइरहेको नेपाली कांग्रेसको प्रभाव रोक्नु रहेको बताउने गर्दछन् । यही दृष्टिकोणबाट उनीहरु अगाडी भन्छन्, ‘यो एक नाटकिय र अप्राकृतिक घटना हो र जसको भविष्य अन्यौलग्रस्त छ ।’ वास्तवमा सो खेमाको यो विश्लेषण अत्यन्त सतही र हतारको टिप्पणी हो । बरु तथ्य के हो भने, एमाले र माओवादी पार्टीका आजसम्मका राजनीतिक भोगाइ र उनीहरुका आ-आफ्ना महाधिवेशनका दस्तावेजहरुका निश्कर्षहरुको समानताले मात्रै यो एकतालाई सम्भव तुल्याएका हुन् । यसर्थ, यो एकता मुलत: विचार र सिद्धान्तको मेलकै जगमा सम्भव भएको छ ।

सैद्धान्तिक समानताको शृंखला
राजनीतिमै क्रियाशील केही वाम नेता तथा स्वतन्त्र विश्लेषकहरुले नै यी दुई पार्टीबीचको एकताका बखत सिद्धान्तको एकरुपताबारे कुनै बहस नभएको टिप्पणी गर्दै आएका छन् । दक्षिणपन्थी शक्तिले त झन यो एकता केवल चुनावमा जीत हासिल गर्ने मनसायबाट मात्रै भएको भन्दै अति निम्छरो टिप्पणी गरेका थिए । तर निर्वाचनकै बेला गठबन्धन र त्यसपछि लगत्तै एकता भएकाले यस्ता सतही टिप्पणी आउनु पनि अस्वभाविक होइन र सैद्धान्तिक छलफललाई स्थान दिएनन् कि भन्ने भ्रम परेकै हो । तर चुनावको चटारोले एमाले र माओवादीले वैचारिक विषयमा घनिभूत छलफल नगरेको भने सत्य नै हो । त्यो बेला थोरै भएपनि विचारबारे बहस हुनुपथ्र्यो भन्ने स्वयं नेकपाकै कार्यकर्ताहरूको समेत धारणा नभएको होइन । तर माथि नै भनिए जस्तो दुवै पार्टीले इतिहासदेखि सामना गर्दै आएका भोगाइहरुको समानताले यी दुई पार्टीको सांगठनिक एकता हुनुपूर्व नै विचार तथा कार्यक्रमको एकता भइसकेको थियो । यद्धपी त्यसले सांगठनिक एकताका लागि उपयुक्त समय र पात्रको खोजी गरिरहेको आभास हुने गर्दथ्यो ।

‘भोगाइहरुको समानताले पार्टी एकतासम्म पुर्याएपछि प्राविधिक पक्षमा धेरै र सैद्धान्तिक पक्षमा थोरै विमर्श हुनु अस्वभाविक पनि होइन । दुवै पार्टीको जीवनको उत्तरार्धमा सम्पन्न महाधिवेशनका दस्तावेजहरुले पनि यस एकताका लागि उल्लेखनिय योगदान पुर्याएका छन् । यस कोणबाट भन्दा ‘एमाले र माओवादीको सैद्धान्तिक एकता अघि नै भइसकेको थियो भने नेताहरुका स्वार्थका कारण सांगठनिक एकतामा ढिलाई भएको बरु सत्य हो ।’

नेपालका कम्युनिष्ट पार्टीहरुमा फुटका बेला ठुला – ठुला सैद्धान्तिक मतभेद देखाउने तर एकताको समयमा सिद्धान्त लुकाएर पदीय एकता गर्ने रोग त छ नै । निश्चय पनि पार्टी एकताको जग भनेको विचार नै हो । तत्कालीन एमाले र माओवादीले पनि एकताको क्रममा आ-आफ्ना महाधिवेशनका फैसलाहरु र दस्तावेजमाथि आलोचनात्मक छलफल नगरेकै हुन् । नेपाली समाजलाई अर्धसामन्ति र अर्धऔपनिवेशिक भनिरहेको जबजको डकुमेन्ट र नयाँ जनवादी क्रान्तिको नारा बोकिरहेको एक्काइसौं शताब्दिको जनवादमाथि हुनुपर्ने जति छलफल नभएकै हो । तर अघि उल्लेख गरिएझैं नेपाली समाज वस्तुत पुजीँवादी भइसकेको र नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेकाले एकताका क्रममा सैद्धान्तिक पक्षमा बहस नहुँदा विजोग नै भयो भन्नु केही पनि थिएन ।

पार्टी एकताको कडी:  एमालेको नवौं महाधिवेशन र माओवादीको हेटौंडा महाधिवेशन 
नेकपा एमालेले २०६४ सालमा सम्पन्न गरेको आठौं महाधिवेशनले नेपाली समाजको सामाजिक आर्थिक परिवर्तनबारे निकै व्यवस्थित दस्तावेज प्रस्तुत गरेको थियो । तर दस्तावेजले समाजको व्यवस्थित व्याख्या जसरी गरेपनि स्वयं महाधिवेशनले नै त्यो दस्तावेजको गाँठी कुरो खुट्याउन सकेन । त्यसको प्रमुख कारण तत्कालीन एमाले भित्रका नेताहरुबिचको अनमेल थियो ।

उता एमालेको आठौं महाधिवेशनले नेपाली समाजको चरित्रबारे गरेको विश्लेषणमाथि स्वयं एमालेभन्दा अघि बढेर बरु माओवादीको हेटौंडा महाधिवेशनले केही योगदान गर्यो । त्यसको केही समयपछि सम्पन्न एमालेको नवौं महाधिवेशनले भने ‘नेपाली समाज पूजीँवादी छ र अब राष्ट्रिय पुजीँको विकास गर्दै समाजवादको तयारी गर्नु कम्युनिष्ट पार्टीको मुख्य कार्यभार हो ’ भनेर ठोकुवा नै गरिदियो । आजको नेपाली राजनीतिमा अति लोकप्रीय शब्दावलीहरु समृद्धी, समाजवाद, आर्थिक विकास, राष्ट्रिय पुँजी र दलाल पूजीँहरु नवौं महाधिवेशनमै उठाइएका विषयहरु हुन् । हो, यसरी दुवै पार्टीको उत्तरार्धमा सम्पन्न महाधिवेशनहरुका निष्कर्षहरु मिल्दा मात्रै एउटै पार्टी निर्माण हुने वातावरण बनेको हो । यो स्थितीले एमालेले भन्दै आएको तत्कालिन जबज र माओवादी पार्टीको माओ विचारधाराको सैद्धान्तिक रुपमा कार्यभार सकिएको उद्घोष पनि गर्यो । फलस्वरुप तत्कालीन एमाले जनताको बहुदलिय जनवादी रहेन भने माओवादीसँग पनि माओवाद बाँकी रहेन ।

पूर्व एमालेले आफ्नो मार्गदर्शक राजनीतिक कार्यक्रमका रुपमा अंगिकार गर्दै आएको एक राजनीतिक कार्यक्रमलाई जनताको बहुदलिय जनवाद भनिएको हो । यसलाई जननेता मदन भण्डारीको अगुवाइमा एमालेको पाचौं महाधिवेशनले पारीत गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम मानिएको थियो । एमालेले यसलाई नेपाली क्रान्तिको सिद्धान्त भन्दै आफ्नै विशिष्टता र विशेषतामा आधारीत कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीति मान्दै आएको थियो ।

जबजबारे एमालेको पाचौं महाधिवेशन भन्छ, ‘बहुदलिय जनवाद अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा सकेसम्म शान्तिपूर्ण रुपले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सिद्धान्त हो ।’ तर आजको अवस्थामा जबजको त्यो परिभाषा पुरानो भइसक्यो । नवौं महाधिवेशनका अनुसार, ‘जनताको बहुदलिय जनवाद राष्ट्रिय पुँजीको विकास गर्दै लोकतान्त्रिक विधिबाट समाजवादको तयारी गर्ने सिद्धान्त हो ।’ यसर्थ हिजोको जबज र आजको जबज बिल्कुल फरक विषय हुन् ।

यसैगरी, तत्कालीन हेटौंडा महाधिवेशन अघिको माओवाद अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा सशस्त्र क्रान्तिद्धारा नयाँ जनवादी सत्ता स्थापना गर्ने सिद्धान्त थियो भने आजको माओवाद नयाँ जनवादी क्रान्ति सम्पन्न भएको हुँदा त्यसका बाँकी कार्यभार पूरा गर्दै समाजवाद तर्फ अघि बढ्ने बाटो हो । यसरी यी दुवै पार्टीले आफ्ना सिद्धान्तको नाम जे राखेपनि आजको कार्यभार एउटै भएको निष्कर्ष निकालेका थिए । त्यो थियो, ‘राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादमा जानु ।’ यसरी यी दुई पार्टीबिच स्वभाविक एकता भएको हो ।

पूर्व एमाले र एमाओवादीले अंगीकार गरेका विचार र कार्यक्रमहरुको सिर्जनात्मक पक्षले यि दुई पार्टी एकताको आधार तयार गरेको देखिन्छ । मुलत: जनताको बहुदलिय जनवादको सिर्जनात्मक पक्षको नै यसमा अहम भूमिका छ ।  कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।