विनु तिम्सिना मोरङ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही उच्छृंखल गतिविधिका कारण व्यवस्था नै खतरा नपर्ने बताउनुभएको छ ।
‘मुलुकमा पछिल्लो समय व्यवस्था विरोधी केही गतिविधि भएको पाइएको छ’ आइतबार विराटगर विमानस्थलमा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, त्यस्ता गतिविधिलाई सरकार र हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ । तर त्यस्ता गतिविधिले राज्यको सिस्टममाथि भने खतरा भइसकेको छैन ।’
अध्यक्ष दाहालले अहिले देखिएका व्यवस्था विरोधी गतिविधिलाई राजनीतिक, वैचारिक र सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘त्यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्छ’ उहाँले भन्नेभयो, ‘प्रतिवादको अर्थ प्रतिकार होइन ।’
पूर्व प्रधानमन्त्री दाहालले मुलुकको समृद्धिको लागि भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको बताउनु भयो । ‘सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्धमा पार्टी र सरकार आफैं अगाडि बढेको छ । त्यसको परिणाम विस्तारै देखिन थालेको छ । त्यसबारे पार्टीमा समेत समीक्षा भइरहेको छ ।’
अध्यक्ष दाहालले मन्तिमण्डल बिस्तारबारे आफूलाई नसोध्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । ‘मन्त्रिमण्डलकोबारे प्रधानमन्त्रीलाई सोध्ने कुरा हो, यसबारे मलाई नसोध्नुस् ।’ पार्टीको कार्यकारी अधिकारी कहिले पाउनु हुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले ‘त्यसमा पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ’ भन्नुभयो ।
पूर्व प्रधानमन्त्री दाहालले सरकारले केही पनि गरेनन भन्ने अनावश्यक प्रचारबाजी सही नभएको बताउनु भयो । ‘सरकारले केही गरेन भन्ने सत्य होइन, यसबीचमा सरकारले थुप्रै काम गरेको छ’ उहाँले भन्नुभयो, ‘थुप्रै मौलिक अधिकारसम्बन्धी कानुन बनाएको छ । अन्तराष्ट्रिय शक्तिसँगको सम्बन्धमा सुधार आएको छ । पेट्रोलियम पाइप लाइन बनेको छ । चीनसँगको सम्बन्ध राम्रो भएको छ । मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा बढी हुने अन्तराँष्ट्रिय एजेन्सीले अनुमान गरेका छन् । यो सबै अवस्थाले निराश हुनुपर्ने अवस्था छैन ।’