उमा अधिकारीकाठमाडौं । सिजनमा करेलाको भाउ सुन्दा उपभोक्ताको मन तीतो हुन पुग्छ । केही महिनाअघि प्रतिकिलो ५० रुपैयाँ रहेको करेला अहिले सय रुपेयाँ पुगेको छ । सीमी, बोडी, काउली, बन्दा, च्याउ र गोलभेडा लगायतका तरकारीको भाउ छोइ नसक्नु भएको उपभोक्ता जीवनेश्वरी अर्याल बताउनु हुन्छ ।
चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ आकशिँदै गएको छ । पछिल्लो समय भारतबाट आयात कम र स्वदेशमै उत्पादित तरकारीमा पनि विचौलियाको चलखेलले मूल्य बढेको हो ।
भारतबाट तरकारी आयातमा कडाई, उत्पादनमा कमी र बिचौलियाको कारण तरकारीको भाउ अप्रत्यासित रुपमा बढेको हो । निरन्तर वर्षाले मुलुकको विभिन्न ठाउँमा लगाइएको तरकारी नष्ट हुँदा पनि तरकारी महंगिएको छ । तर किसानदेखि व्यवसायी र उपभोक्तासम्म आइपुग्न बिचौलियको विभिन्न जालो नै पार गर्नुपर्दा भने उपभोक्ता मारमा पर्दै आएका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका उपनिर्देशक विनय श्रेष्ठ तरकारीको भाउ अप्रत्यासित बढेपछि समितिले त्यसबारे अनुगमन तयारी गरिरहेको बताउनुहुन्छ । सरकारले भारतीय तरकारी आयातमा बिषादी परीक्षण पनि शुरु गरेको छ । केही साता रोकिएको परीक्षण सर्वोच्च अदालतको अन्तरिम आदेशपछि फेरि कार्यान्वयन भइरहेको छ ।
बिषादी परीक्षणले भारतीय तरकारी कम मात्रामा आउन थालेपछि पनि बजारमा तरकारीको भाउ बढेको व्यवसायी केदारप्रसाद उप्रेतीको भनाई छ । किसानले सहजै बजार पाउन र उपभोक्ताले उचित मूल्यमा तरकारी पाउन बिचौलिया अन्त्य गर्न जरुरी छ ।
https://youtu.be/YTSoEdSsWn8