काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भएको दाबी गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्नसमेत नसक्ने गरी महँगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । वडा दशैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी पनि गर्नु भयो ।
‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ सभापति देउवाको दाबी छ । ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैंं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो ।
सभापति देउवाले प्रजातन्त्र विरोधी गतिविधि सैह्य नहुने चेतावनी दिनुभयो । उहाँले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।
कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।
यस्तै, युवा नेता गगनकुमार थापाले सरकारले दुई तिहाइको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्नुभयो ।नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि भनाइ छ ।