काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र स्थापनामा कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
भरतमोहन अधिकारी फाउण्डेशनद्वारा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले २०६३ साल वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले गरेकाे संसद पुन स्थापना घोषणा ‘आफूले ड्राफ्ट’ गरेको खुलासा गर्नुभयो ।
‘२०६३ साल वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले गरेको संसद पुन स्थापना घोषणा हामीले नै लेखेकाे हो’ उहाँले भन्नुभयो, ‘राजाको त्यो घोषणा जनआदोलन चलिरहेको बेला भरतमोहन जीको घरमा बसेर उहाँ र मैले तयार पार्यो । हामीले तयार पारेको घोषणा मन्तव्यमा मात्र दुई शब्द थपिएको छ । माथि प्यारा देशबासीहरु भन्ने शब्द र तल पशुपतिनाथले कल्याण गरुन भन्ने शब्द । अरु शब्द एउटा कमा पनि तलमाथि भएको छैन ।’
नेता नेपालले राजा ज्ञानेन्द्रलाई आफूहरुले शब्दमा घुमाएर गणतन्त्रसम्म पुर्याएको उल्लेख गर्नुभयो । ‘राजाले लोकतन्त्रमा मेरो भूमिका के हुने ? भने’, उहाँले भन्नुभयो, ‘हामीले संसदले जे दिन्छ त्यही भन्यौ । त्यसबेला राजालाई संसदले आफ्नो भूमिका कटौती गर्दैन भन्ने लागेको थियो होला तर हामीले घुमाउरो पाराले राजालाई भूमिकाबाट खुम्च्याउँदै लग्यौं ।
नेता नेपालले २०४७ सालको संविधान निर्माणमा पनि भरतमोहन अधिकारी र आफ्नो सक्रिय भूमिका रहेको स्मरण गराउनुभयो । ‘त्यसबेला समितिमा वाममाेर्चाबाट म, भरतमोहनजी र निर्मल लामा थियौं’ उहाँले भन्नुभयो, ‘समितिमा वामपन्थीको संख्या एक तिहाई थियो तर भूमिकामा भने हामी नै निर्णयक रह्यौ ।’
नेता नेपालले त्यसबेला भरतमोहन र आफूले संविधानलाई जनताको पक्षमा बनाउने प्रयत्न गरेको सुनाउनु भयो । ‘त्यसको लागि हामीले धेरै राष्ट्रको संविधान अध्ययन गर्यो, हामी चाहन्थ्यौ राजा नाम मात्रको रहुन जनतामा अधिकतम् होस्’ उहाँले भन्नुभयो, ‘हामीले स्पेन र जापानको जस्तो संविधान बनाउने प्रयास गर्यौ । त्यो थाहा पाएर राजा वीरेन्द्रले मलाई दरबारमा बोलाए । अनि आँखा रातो पार्दै भने–मलाई जापानकाे राजा जस्तो बनाउन खोजेको ?’
नेता नेपालले पार्टी र मुलुकको लागि भरतमोहनले गर्नुभएको योगदान बिर्सन नहुने बताउनु भयो ।