काठमाडौं । नेपालमा पहिलो पटक आयुर्वेद क्षेत्रका समाचार सम्प्रेषण गर्ने हेतुले एक पत्रिका सञ्चालनमा आएको छ । विश्व दर्शन मिडिया ग्रुपले सञ्चालन गर्ने र मासिक रुपमा प्रकाशन हुने आयुर्वेद मासिकको शनिबार एक समाराेहका बीच बिमाेचन गरिएको छ ।
कार्यक्रममा अडानका अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेद क्षेत्रका भिभिन्न भ्रमहरुलाई चिरेर उपचारसँगै दीर्घायुको लागि जडिबुटी र आयुर्वेद उद्योगलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । ज्ञवालीले आयुर्वेद पत्रिकाको विकासका लागि अडानकाे महत्वपूर्ण सहयोग रहने र सहकार्यका लागि तयार रहेको बताउनुभयो ।
बिमाेचन समारोहमा स्वागत मन्तव्य राख्दै द्रोण पराजुलीले आयुर्वेद पत्रिकाको प्रकाशनमार्फत आयुर्वेद क्षेत्रमा एक नयाँ युग आरम्भ भएको बताउनुभयाे । त्यस्तै, पत्रिका प्रकाशनको उद्देश्य र मिडियाको भावी उद्धेश्यबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक मान बहादुर साउँदले आयुर्वेदको विचारलाई अनलाईन न्युज पोर्टल, युनिभर्सल अनलाइन टीभी तथा युट्युव च्यानलबाट समेत साथ - साथै जनस्तरमा लैजाने धारणा राख्नुभयो ।
आयुर्वेद पत्रिकाले नेपालको समग्र जडिबुटी, आयुर्वेद उद्योग, व्यवसायी, सरोकारवाला, सरकार लगायतका सबै पक्षका समस्या तथा तिनकाे समाधान, नीति निर्णय, कार्यक्रम तथा परियोजना र आम सरोकारको बिषयमा शसक्त कलम चलाउने पत्रिकाका संरक्षक डा. नारायण अर्यालले प्रष्ट्याउनु भयो ।
बालुवाटारिस्थित चियापान ‘टि लन्ज’ मा आयोजित बिमाेचन समारोहमा डा. खेमराज भट्टराई, नेपाल आयुर्वेदिक चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. प्रकाश ज्ञवाली, विशिष्ट अथिति संरक्षक डा. नारायण प्रसाद अर्याल, ‘टि लन्ज’ का सञ्चालक केशव शर्मा, वरिष्ठ आयुर्वेद वैज्ञानिक डा. बद्री गौतम, एपि वान टिभिका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटा तथा स्ट्रिट टु होमकी कल्पना केसी लगायतको उपस्थिति रहेको थियो ।