‘कांग्रेसको दुश्मन नेकपा होइन, गरिबी’

अमृता चुदाली
काठमाडौं । युवा नेता गगन थापाले सत्तारुढ दल नेकपासँग नेपाली कांग्रेसको दुश्मनी नभएको बताउनु भएको छ । ‘नेकपासँग कांग्रेसको कुनै दुश्मनी छैन’ दशैंको उपलक्ष्यमा आइतबार आयोजित शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो, ‘यतिखेर नेकपा मुलुकको दुश्मन पनि होइन । मुलुकको दुश्मन गरिबी हो ।’
युवा नेता थापाको निर्वाचन क्षेत्रमा अधिंकाश सडक अहिलेसम्म दुरावस्थामा छन् । उहाँले दुरावस्थामा रहेका सबै सडक आउँदो मंसिरसम्म निर्माण भइसक्ने प्रतिवद्धता जनाउनुभयो । ‘सडकको अवस्था सुधार्न हामीले आन्दोलन समेत गर्यौ, यसबारेमा मैले संसदमा समेत आवाज उठाएँ’ उहाँले भन्नुभयो, ‘सडक सुधार्नको लागि भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छौं । मन्त्रीले आउँदो मंसिरसम्म सबै सडक निर्माण भइसक्छ भन्नुभएको छ ।’
नेता थापाले सरकार निरंकुशतातर्फ उधत् भएको आरोप लगाउनुभयो । ‘सरकारले नागरिक स्वतन्त्रता हनन् गर्ने हिसाबले एकपछि अर्को कानुन ल्याइरहेको छ’ उहाँले भन्नुभयो, ‘नागरिक स्वतन्त्रता हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको छ ।’
युवा नेता थापाले ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटप्रति आपत्ति जनाउनुभयो ।