‘जनताले देख्ने गरी झगडा नगर्नुस्’

सुरज श्रेष्ठ
काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेशको विचारमा चलेको बताउनुभएको छ ।
‘नेपालमा अहिले नेकपाको सरकार छ तर नेकपाको आफ्नै विचार छैन’ बनेपामा आइतबार आयोजित दशैं शुभकामना कार्यक्रमा उहाँले ‘कम्युनिष्टहरुको आफ्रनै विचार छैन । कहिले माओसेतुङको विचार बोक्छन् । कसैले लेलिनवादी हुँ भन्छन् । हुँदाहुँदा अब त सी जिनफिङ विचार रे ! यसरी विदेशी विचार बोकेर कसरी जोगिन्छ राष्ट्रियता ?’
सभापति देउवाले सरकारले जनविश्वास गुमाउँदै गएको बताउनु भयो । ‘देशमा जनता भन्दा ठूलो कोही छैन’ उहाँले भन्नुभयो, ‘सरकारले जन चाहना अनुसार काम गर्न सकेन । जनविश्वास गुमाउँदै गएको छ । यही मौकामा अब कांग्रेसले जनताको मन जित्नुपर्छ ।’
सभापति देउवाले जनताको घरदैलाेमा पुग्न नेता तथा कार्यकर्तालाई आव्हान गर्नुभएको छ । ‘जनताको घरमा पुगौ, जनतालाई साथदिने पार्टी बनाउन सबै लागौ’ उहाँले भन्नुभयो, ‘चुनाव आउन अझै ३ वर्ष बाँकी छ, यो अवधिमा जनताको घर–घर दैलोमा पुग्न सकियो । अर्को चुनाव हामीले जित्छौ ।’
सभापति देउवाले नेता तथा कार्यकर्ता गुटको असन्तुष्टि नदेखाउन आग्रह गर्नुभयो ‘जनताले देख्ने गरी झगडा नगर्नुस्’ उहाँले भन्नुभयो ।