काठमाडौं । सोमबार राजधानीबाट प्रकाशित पत्रिकाले विभिन्न फरक - फरक विषयका समाचार प्रकाशित गरेका छन् ।
आइतबार जनता समाचार डटकम मा ‘जनताले देख्ने गरी झगडा नगर्नुस्’, ‘सडक अनाथ र असाह्य मुक्त हुन्छ’,छिमेकीले धकेल्दा वृद्धको मृत्यु, ‘यात्रुका लागि चालक भगवान हुन्’, भीषण सवारी दुर्घटना, ३६ को ज्यान गयो, आँधिखोलामा र्याफ्टिङ (फोटो फिचर) र साफ अन्डर १८ को उपाधि भारतलाई लगायतका समाचार प्रकाशन गरिए ।
गोरखापत्र दैनिकले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले दशैंको पूर्वसन्थ्यामा बजार अनुमनलाई तीव्रता दिएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर बाह्रै महिना गरिने उल्लेख छ ।
चाडपर्वका बेलामा भने मूल्य, गुणस्तर र तौलमा उपभोक्ता बढी ठगीमा पर्ने सम्भावना भएकाले विशेष खालको अनुगमन गर्ने गरेको उहाँको भनाई छ । पछिल्लो समय बजारमा खाद्यान्न, पानी, इन्धन, लत्ता कपडा तथा होटेलमा उपभोक्ता बढी ठगिने गरेको पाइएको छ । यातायात र औषधीमा अझ अत्याधिक लुट देखिएको र बजारमा म्याद नाघेका औषधी र मूल्य सूची नभएका सामानको बिगबिगी बढिरहेको समाचारमा लेखिएको छ ।
नागरिक दैनिकले मेलम्चीमा फेरि एक वर्षको वाचा शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार डेढ दशकदेखि सर्वाधिक चासो र चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सीनो हाइड्रोसँग सम्झौता भएको छ । निर्माण सुरु भएको १५ वर्षको अवधिमा पटक-पटक विवादमा आइरहने यो योजना बनाउन यसअघि तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको थियो । समाचारमा लेखिए अनुसार आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयोजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सहमति गरेको हो