नारायण थापाभक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले विभिन्न वडाका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
अन्तरर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाले नगरपालिका अन्तर्गत प्रत्येक वडाबाट एक वृद्ध र एक वृद्धा गरी १० वटा वडाबाट २० जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा आफैं ज्येष्ठ नागरिक भए पनि ज्येष्ठ नागरिककै सेवामा सक्रिय व्यग्क्तित्व हिरालाल तिमिल्सिना समेत हुनुहुन्छ । जेष्ठ नागरिकलाई सम्मानपत्र, विभिन्न खानेकुरा र पोशाक दिएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मानित मध्ये सबै भन्दा बढी उमेरका वडा नम्बर ९ बस्ने ९८ वर्षीया कान्छीमाया भण्डारी र वडा नम्बर ६ बस्ने ज्ञानबहादुर धोजुलाई विशेष सम्मान गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले उहाँहरुलाई सम्मान गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकको हितका लागि विशेष पहल गरेको बताउनुभयो । उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकलाई अपमान गरिए नगरबाट उपलब्ध सेवा नपाइने नीति अघि सारेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख थापाले ज्येष्ठ नागरिकलाई अपमान गर्ने घर परिवारका सदस्यलाई नगरबाट उपलब्ध हुने सेवा सुविधामा रोक लगाएको बताउँदै नगरपालिका सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिक ज्येष्ठ नागरिक अनुभवका पुञ्ज भएको बताउँदै उमेरकै कारण विभेद गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नपाका ८ नम्बर वडाका वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक किरण थापा, ७ नम्बर वडाका वडाध्यक्ष तथा पुर्वाधार विकास समिति संयोजक रविन्द्र सापकोटा र ९ नम्बर वडाका वडाध्यक्ष तथा नपाका प्रवक्ता उपेन्द्र केसी तथा ज्येष्ठ नागरिक टंकनाथ भण्डारी लगायतले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अवस्थाको लागि सबैले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।