मेडिकल कलेजको शुल्क निर्धारण गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।
चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाउनुभयो ।
काठमाडौंमा बिहीबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठक समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भइरहेको बताउनुभयाे ।