यसपाली उनकोमा जमरा फुलेन

१५ वर्षअघि बाबा बेपत्ता हुँदा नग्मा ७ वर्षकी थिइन् । बैनी स्वस्तिका मात्र ३ वर्षकी । २०७५ साल पुष २२ गते हजुरआमा बितेपछि सिङ्गो घर चलाउने जिम्मेवारी नग्माको काँधमा छ । आफन्तबाट नैतिक र भौतिक कुनै सहयोग नपाएको बताइरहँदा नग्मा कत्तिपनि बिचलित थिइनन् ।

ललितपुरको नेवारी बस्ती ठेचोको सानो गल्लिमा एक पुरानो शैलीको घरभित्र छिरिरहँदा मैलै सबैतिर हेरेँ, छिर्ने बितिकै बुट्टे पर्दा भित्रको सानो भान्छा कोठा । छेउमा भर्याङ त्यो उक्लदै जाँदा भित्ताका फोटोहरुले लहरै स्वागत गरे झैँ लाग्ने । चोटामाथि पुगेपछि सुत्ने कोठा, र्याकमा लहरै किताबहरु, एक टेबल, छेउमा लो–बेड, सँगै एक बेड पनि ।

‘बस्नु ल दिदी’ उनले लो–बेडतर्फ देखाउदै भनिन्, उनी अर्थात् नग्मा नज्जु माली । बेडमा उनकी बहिनी स्वस्तिका ल्यापटपमा केही गर्दे थिइन् । हामी देखेपछि नमस्ते गरिन् । साथी र म बस्यौँ । भित्तातिर नियालेँ हातले बनाएका केही फोटोहरु र छेउमा मेरो बाबा खोई भनेर लेखिएको एक मात्र औठा छाप भएको विम्वात्मक सेतो बोर्ड झुण्डिरहेको थियो । घरका चार भित्ताहरु अनेकन स्मृती समेटेर आफन्तको सम्झनामा उभिइ रहेझैँ लाग्ने ।

मैले पढेको थिएँ उनको अतितका बारेमा । हजुरबा, हजुरआमा, बा, आमा, उनी र बहिनीको सानो सुखी परिवार । तर लेखान्त अर्के थियो स्वस्तिका जन्मने बित्तिकै उच्च रक्तश्रावको कारण आमाको मृत्यु भयो । आमाको वियोगबाट मालि परिवार सम्हालिँदै गर्दा अर्को बज्रपात थपिएको थियो । २०६१ सालमा देशमा शसस्त्र द्वन्द्वकाल उत्कर्षमा थियो । सोही साल जेष्ठ महिनामा बेपत्ता भए उनका बाबा नन्द गोपाल माली । मूर्ती कलामा निपुर्ण उनले मूर्ती बनाउने अडर आएको छ छिट्ट् सक्न पर्ने भएकोले, ताहाचलमा बसेर काम सकेर मात्र आउँछु’ भनेर गएका नन्द गोपाल कहिले घर फर्किएर आएनन् । जतिबेला नग्मा ७ वर्ष र उनकी बहिनी ३ वर्षका थिए। केही समय पछि उनलाई सेनाले पक्राउ गरेर लगेको खबर पाए मालि परिवारले । नग्माका वृद्ध हजुरबा र हजुरआमाले एक्लो छोरा नन्द गोपालको खोजी गर्दा गर्दे एक वर्ष पछि हजुरबाको वियोग सहन बाध्य भयो मालि परिवार । द्वन्द्वकालको चरम उत्कर्षको त्यो बेला हजुरआमा एक्लैले सम्भावित स्थानदेखि मानब अधिकार आयोग, आर्मी ब्यारेकसम्म खोजी गरिन्, नाबालिका नातिनीहरु च्यापेर सबैलाई गुहारिन् तर पनि केही लागेन । नन्द गोपाल भेटिएनन् ।

१२ वर्षे शसस्त्र जनयुद्ध पश्चात तत्कालिन माओवादी शान्ति प्रक्रृयामा आयो । जनयुद्धमा बेपत्ताहरुको सुची सार्वजनिक भयो तर नन्द गोपालको नाम परेन । हिम्मत गरेर नग्माको हजुरआमाले मानब अधिकार आयोग र सर्वोच्च अदालतमा रिपोर्ट गरेपछि बल्ल नन्द गोपालको नाम बेपत्ता सुचीमा थपियो । राहत स्वरुप १० लाख पाए मालि परिवारले । तर त्यो पैसाले प्रियजन वियोगको घाउ कहाँ निको हुने रहेछ र ।
मालि परिवारमा आइलागेको बिपत्ती त्यतिमै सकिएन सानैमा आमा, बाबा, हजुरबा गुमाएका नग्मा र स्वस्तिकाको एक मात्र साहारा पनि गुम्यो । लामो समयदेखि दमको बिरामी थिइन् हजुरआमा त्यै माथि नियतीको निरन्तरको बज्रपातले शरीर गल्दै थियो । अन्तत दुई कलिला नातिनीहरुलाई छोडेर हजुरआमाको २०७५ पौष २२ गते निधन भयो । त्यस यता नग्मा र उनकी बहिनी स्वस्तिका एकअर्काका साहारा भएका छन् ।

ठेचोको त्यो पुरानो बस्तीमा बडा दशैँको चहलपहल, खुशियाली उत्कर्षमा रहँदा नग्माको घरमा शुन्यता फैलिएको छ । यस वर्ष उनको घरमा घटस्थापनामा जमरा राखिएन, नवरात्रीको पूजा गरिएन । विजया दशमीको दिन रातो अक्षेता पनि मुछिएन ।

यस वर्षको दशैँ नभए पनि अगाडिका दशैँको बारेमा जिज्ञाशा राखेको थिएँ नग्मालाई । बाबा नन्द गोपालसँग मनाएको दशैँ खासै याद रहेनछ उनलाई, अलिअलि सँगै चङ्गा उडाएको धमिलो चित्र आउने उनी बताउँछिन् । बाबा बेपत्ता पारिए पछिका कुनै पनि दशैँ रमाइलो लागेन उनीहरुलाई, बिरामी हजुरआमासँग नयाँ कपडा किनिदिने पैसा हुँदैन थियो । त्यस्तो बेला बाबाको खुब याद आउथ्यो, बाबा भई दिएको भए… जस्तो लाग्थ्यो नग्मालाई । बाबाको चिनो एक साइकल थियो घरमा । जसलाई दुईतीन वर्षसम्म दशैँमा पूजा गरेको स्मरण गर्छिन् नग्मा, पछि बाबाको साथीले लगेको त्यो साईकल फिर्ता आएनछ । पारिवारिक वियोगमा रहेका उनीहरुलाई दशैँमा आइपर्ने एक समस्या के थियो भने दशैँमा गरिने परम्परागत पूजा गर्न पुरुष नै चाहिने तर हजुरबा, बाबा गुमाएपछि मालि परिवारमा ३ महिलाहरु मात्र बाँकी थिए जसले गर्दा पूजा गर्न हजुरआमाले अरुलाई बोलाउने गरेको बताइन् ।

हाल २२ वर्षकी नग्मा बाबा आमाको काखमा लुटपुटिएर खेल्दै हुर्कने अरु बालबालिका देख्दा बेचैन हुन्छिन् । तर आमा कस्तो थिइन् भनेर थाहा नै नपाएकी बहिनी स्वस्तिकाको लागि उनले आफूलाई सम्हाल्न पर्ने बाध्यता छ । स्वस्तिका १८ वर्ष भइन्, कक्षा १२ मा पढ्दैछिन् । उनको लागि एक्लो अभिभावक बनेकी छिन् नग्मा । बेपत्ता बाबा नन्द गोपालको नाममा राज्यले दिएको सहयोग दश लाख रकम हजुरआमाको उपचारमा सकिएको उनले हामीसँगको कुराकानीमा बताइन् । सानै उमेरमा ठुलो जिम्मेवारी काँधमा बोकिरहेकी नग्मा पत्रकारितामा स्नातकोत्तर गर्देछिन् । सँगै एक संस्थामा जागिरे पनि छिन् त्यसैको भरमा उनले घर चलाउने अनि आफ्नो र बहिनीको भविष्यको बाटो कोर्दै छिन् ।

कुराकानीकै क्रममा विभिन्न छापामा आएका उनको बाबाको समाचारको बारेमा सोधेँ, सँधै कोही न कोहीले सोधिरहदा झर्को लाग्छ कि भनेर पनि जिज्ञाशा थियो मलाई । सानैबाट हजुर आमाले पत्रकारहरु र सोध्नेहरुलाई सबैलाई दिएको उत्तर सुन्दै हुर्किएकी नग्मालाई यो कुरा सामान्य जस्तै भइसकेको बताउँछिन् । हजुरआमाको निधनपछि अब हरेकलाई उत्तर उनी दिन्छिन् । प्रश्नहरु र उत्तरसँग नग्मा अभ्यस्त भइसकेकी छिन् ।

१५ वर्षअघि बाबा बेपत्ता हुँदा नग्मा ७ वर्षकी थिइन् । बैनी स्वस्तिका मात्र ३ वर्षकी । २०७५ साल पुष २२ गते हजुरआमा बितेपछि सिङ्गो घर चलाउने जिम्मेवारी नग्माको काँधमा छ । आफन्तबाट नैतिक र भौतिक कुनै सहयोग नपाएको बताइरहँदा नग्मा कत्तिपनि बिचलित थिइनन् ।

समयको चोटसँगै हुर्किएकी नग्मा आफूले काम गर्ने संस्थामा शुरुवाती दिनहरुमा द्वन्द्वपीडितहरुको विषयमा भिडियो सम्पादनको काम गर्थिन् । त्यतिबेला उनी गाजल लगाउने गर्थिन् । भिडियो सम्पादन गदैँ जाँदा सबै पीडीतका पीडा देख्दा हरेक पटक आँशु भलभलि झर्थ्यो सबै गाजल लतपतिन्थ्यो । त्यसपछि उनले गाजल नै गाउन छाेडेको बताइरहँदा नजिकै बसेकी उनकी बहिनीको भाव सार्है मायालु देखिन्थ्यो उनी एकोहोरिएर दिदीलाई हेरिरहेकी थिइन् भाव शुन्य भएर ।

हजुरआमा पनि नभएपछि दुई दिदी बहिनीको मनोविज्ञानमा कस्तो असर गर्यो होला ? सिङगो घरमा बस्न कति डर लाग्यो भन्ने सबैमा उठेको प्रश्न थियो तर हजुरआमा बितेको १२ दिनसम्म अलि डर लागेपनि पछि केही नलागेको नग्माले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक चपेटामा पिल्सिन बाध्य दुई दिदीबहिनी बेला नपुग्दै कलिलो उमेरमा परिपक्क हुँदै थिए सायद ।

यस्ता सबै कुराकानी गरिरहँदा साँझ परिसकेको थियो । चिसो चिसो यो मौसममा स्वस्तिकाले हामीलाई तातो दुध चियाले सत्कार गरिन् । उनी दिदीलाई हेर्दे हामीलाई हेर्दे गर्थिन् कहिले उनीहरुको घरमा आएको अर्को सदस्य सानो सेतो पप्पी लुलालाई काखमा च्याप्थिन् । समय घर्कदो थियो, नियतिले दिएको बज्रपात सहँदा सहँदा कठोर प्रतित हुने नग्मालाई मैले अन्तिम प्रश्न राखेँ ।
नग्मा, भगवानप्रति आस्था छ ?
‘पहिले थियो…अहिले छैन…।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…