रेल आउँदै गर्ला, सुरुङ मार्ग पनि बन्दै गर्ला तर यसको मनोवैज्ञानिक उपलब्धी धेरै छ– हामीलाई हेप्नु वा नाकाबन्दी लगाउनुअघि सम्बन्धित पक्षले अब दशपटक सोच्नु पर्नेमा शंका छैन । जम्मा चार वर्ष पहिले इतिहासकै सबैभन्दा बढी दर्दनाक नाकाबन्दी भोगेको नेपालका लागि उत्तरी सीमानाका व्यापारिक–व्यावसायिक नाका उपलब्ध हुनु आफैँमा महत्वपूर्ण छ
आफ्नो सरल व्यवहारले आम नेपालीको मन जितेर मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने औपचारिक भ्रमण सकेर आइतबार फर्किनु भएको छ । महाशक्ति राष्ट्रका शक्तिशाली राष्ट्रपति २३ वर्षपछि मित्रताको निरन्तरताका लागि आउनु आफैँमा ठूलो उपलब्धि थियो नै । शक्तिशाली मित्रसँग गहिरो मित्रता हुनु नै शक्ति प्राप्त गर्नु हो । हामी सबैले आफ्नो व्यक्तिगत जीवनमा पनि प्रभावशाली मित्र हुनेलाई कसैले हेप्न सक्दैन भन्ने दृष्टान्त देखेकै–भोगेकै छौँ । राष्ट्रका सन्दर्भमा यो प्रसंग झनै बढी सान्दर्भिक रहन्छ । केही भौतिक विकास निर्माणका सम्झौता भएका छन् । उदाहरणका लागि काठमाडौं–केरुङ रेल मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । यसैको समानान्तर सुरुङ मार्ग बनाउनेबारेमा महामहिम राष्ट्रपतिले आफ्नो सम्बोधनमै उल्लेख गर्नु भएको छ । यो लागू हुनासाथ नेपाल वास्तवमै भूपरिवेष्ठितबाट अहिले चलनचल्तीमा ल्याइएको शब्द– भूजडित हुनेछ । रेल आउँदै गर्ला, सुरुङ मार्ग पनि बन्दै गर्ला तर यसको मनोवैज्ञानिक उपलब्धी धेरै छ– हामीलाई हेप्नु वा नाकाबन्दी लगाउनुअघि सम्बन्धित पक्षले अब दशपटक सोच्नु पर्नेमा शंका छैन ।
जम्मा चार वर्ष पहिले इतिहासकै सबैभन्दा बढी दर्दनाक नाकाबन्दी भोगेको नेपालका लागि उत्तरी सीमानाका व्यापारिक–व्यावसायिक नाका उपलब्ध हुनु आफैँमा महत्वपूर्ण छ नै । हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङमा पर्ने ओलाङचुङ्गोला नाकासम्म चीनले आफ्नो तर्फबाट लिंक सडक निर्माण गर्ने सहमति भए । नेपाल र चीन जोड्ने नेपाली इतिहासमा पहिलो स्थान पाएको बहुचर्चित अर्थराजनीतिक महत्वको काठमाडौं–कोदारी राजमार्गको स्तरोन्नति गर्ने पूर्वसहमतिले पनि निरन्तरता पाएको छ । यसैगरी काठमाडाैं-बुटवललगायतका विभिन्न नगरपालिकाको चीनका विभिन्न नगरपालिकासँग भगिनी सम्बन्धका कागजपत्र पनि हस्ताक्षर भएका छन् । ती उहिले भएका समझदारी हुन्, समझदारीको तालिका लामो बनाउन यिनले पनि सहयोग गरे ।
उपर्युक्त सबै सहमति दूरगामी महत्वका छन् । यी सहमति लागू हुँदा नेपाल मात्रै लाभान्वित हुने छैन, नेपाललेभन्दा बढी लाभ चीनले नै पाउने छ । नेपाली पक्षले धेरै आशा गरेको केरुङ काठमाडौं रेल मार्ग को सम्भाव्यता अध्ययन गर्ने र विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेबारे त महामहिम राष्ट्रपति आफैँले उद्घोष गर्नु भयो, जुन तयार हुनु नै रेलमार्ग निर्माण हुने दिशामा ठोस पहल हुनु हो । हाम्रो पक्षले अलि तयारी र जोड गर्नसकेको भए ‘विस्तृत परियोजना प्रतिवेदन तयार गर्नुका साथै सोही बमोजिम रेलमार्ग निर्माणमा सघाउन चीन सरकार तयार रहने छ ’ भन्ने सम्झौता पनि हुन सक्दो हो ।
भविष्यमा पनि हाम्रो एक चीन नीति जारी रहने छ । नेपालको बाटो भएर चीनमाथि कसैले दागा धर्न पाउने छैन । यो हाम्रो निरन्तर प्रतिवद्धता हो
मित्रसँग व्यवहार गर्दा मित्रको मनोविज्ञान पनि जान्न जरुरी हुन्छ । कूटनीतिक क्षेत्रमा मेरो अध्ययन कमजोर नै हुनसक्छ, तर पनि यति चाहीँ जानकारी छ कि कर नगरी चिनियाँ मित्रहरु केही पनि दिन–मान्न तयार हुँदैनन् । २०७२ सालको नाकाबन्दीका समयमा उत्तरी नाका खोल्न र नाकाबन्दीबाट राहतको गुहार माग्न चीनका लागि नेपालका तत्कालीन राजदूत महेश मास्केको सक्रिय पहलमा नेपाली प्रतिनिधि मण्डल बेइजिङ गएको थियो । शुरुमा चिनियाँ पक्षले ‘तपार्ईंहरुले भारतसँग नै सम्बन्ध सुधार्नुस्’ भनेर अल्मल्याउन खोजेको कुरा त्यो वार्तामा सहभागीहरु बताउँछन् । नेपाली पक्षले धेरै नै जोड गरेपछि बल्ल पारवहन सुविधा र केही लाख लिटर पेट्रोल लगायतका कुरा आए । त्यसबाट बल्ल भारतीय पक्षलाई ‘अब हामीले मात्रै नेपालमा नाकाबन्दी लगाएर केही हुन्न, नेपालको पक्षमा चीन दरो गरी अडिने भएपछि हामीले पनि नाकाबन्दी खोल्न नै उपयुक्त हुन्छ ’ भन्ने जबरजस्त मनोवैज्ञानिक प्रभाव दिल्लीका नीति निर्मातामा पर्यो । अनि विस्तारै नाकाबन्दी खोल्न भारतीय पक्ष नदेखिने गरी घचक्कै घुँडा टेक्न पुग्यो ।
चीनसँग सहयोग माग्नु कुनै भिखारी पन हैन भन्ने बुझ्न जरुरी छ । हामी आकारमा सानो देश हौँ तर इतिहासमा हामीले मित्रराष्ट्र चीनलाई कहिल्यै बिर्सन नसक्ने गुण पनि लगाएका छौँ । भविष्यमा पनि हाम्रो एक चीन नीति जारी रहने छ । नेपालको बाटो भएर चीनमाथि कसैले दागा धर्न पाउने छैन । यो हाम्रो निरन्तरताको प्रतिवद्धता हो ।
विसं २०३१ (सन् १९७४)को खम्पा विद्रोह कुशलतापूर्वक नियन्त्रण गरेर होस् वा त्यसपछि भएका यावत तिब्बत विरोधी गतिविधि हुन नदिएर होस्, चीनलाई बिर्सनै नसक्ने गुण नेपालले लगाएको छ । यसैगरी चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन पनि नेपालले महत्वपूर्ण भूमिका पूरा गरेको छ । आकारमा सानो भए पनि हामीले केटाकेटीमा सुनेको ‘जालमा परेको सिंह’लाई ‘जाल काटेर उद्धार गर्ने मुसा’को कथाजस्तै हामीले चीनलाई सहयोग गरेका छौँ । चीनको राष्ट्रिय धर्म र संस्कृतिसँग जोडिएका बुद्ध दिएका छौँ हामीले । धर्मगुरुको घरमा केही सहयोग गर्नु कुनै ठूलो कुरा पनि हैन । (केही छुद्र आलोचकहरुले उपमा दिएको कुरालाई ‘लौ हाम्रो देशलाई मुसो भन्ने ?’ भन्न पनि सक्नुहुन्छ । निहुँ खोज्नेहरुलाई भन्न छुट छ । मैले नेपाललाई मुसा भनेको हैन, सानो आकारको उदाहरण दिएको हुँ ।)
चीनसँग नेपालको सम्बन्ध आमरुपमा समस्यारहित छ, यद्यपि चीनका महामहिम राष्ट्रपतिले ‘केही समस्या पनि छन्’ पनि भन्नु भएको छ । सानातिना समस्या मिलेर समाधान गर्ने सन्देश पनि उहाँले दिनु भएको छ । नेपाल र चीनबीच सीमा विवाद छैन र उत्तरी नाकामा रहने चिनियाँ सीमारक्षकले सीमा स्तम्भ सार्ने वा गायब पार्ने तुच्छता पनि गर्दैनन् । न त चिनियाँ पक्षले नेपाली राजनीतिमा सुक्ष्म व्यवस्थापन गरेर हैरान नै पार्दछ । चीन नेपालको साँच्चिकै मित्र हो । तर ज्यादै लजालु मित्र ! उदाहरणका लागि– घरमा आएको मित्रले ‘भोक लाग्यो मित्र केही खान देऊ न’ नभनी भात नपस्किने खालको मित्र ! यसखाले दृष्टान्तबारे अलिकति त माथि नै लेखिसकेको छु । विगतमा जति पनि नेता र प्रधानमन्त्री चीन जानु भयो– ती सबैलाई चिनियाँ पक्षको एउटै सुझाव हुन्थ्यो : ‘हामीले तपाईंहरुलाई सहयोग त गर्ने छाैं तर हाम्रो सहयोग भारतको भन्दा कम हुनेछ । भारतको भन्दा बढी सहयोग गर्यौँ भने तपाईंहरुसँग भारत रिसाउन सक्छ !’
अघिल्लो लेखमा लेखिसकेको छु : चीन अभिन्न मित्र हो तर ज्यादै व्यावसायिक ! कस्तो व्यावसायिक भने हाम्रो नेपाली उखान छ नि– मीतले हलो सित्तैमा दिए, मैले पनि एक हल गोरु सित्तैमा दिएँ ।’ मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ हाम्रा राष्ट्रपतिको निमन्त्रणामा आउनु भयो– एउटा सत्य यो हो । सत्यको अर्को पाटो के हो भने नेपाल जुन भूराजनीतिक अवस्थामा छ– नेपालसँग चीनले हातेमालो नगरी सुखै छैन ।
चिनियाँ महामहिम राष्ट्रपति फर्किनु भएको छ । उहाँको यात्रा रमाइलो भएको सम्झना रहोस् । उहाँलाई फर्किफर्की नेपाल आउन मन लागोस् । यसपाली उहाँलाई लुम्बिनी लैजान सकिएन । अर्को पटक आउनु भयो भने उहाँलाई ल्याउने जहाज ओराल्न सक्नेगरी भैरहवा विमानस्थल तयार हुने नै छ
फेरि दोहोर्याएर भन्न चाहन्छु– नेपालको बाटो भएर चीन र भारतका रेलवे लाइनहरु जोडिनु यी दुवै भीमकाय देशका लागि बढी फाइदाजनक हुनेछ । यी दुई देशबीच ढुवानीको खर्च गुणात्मकरुपमा घट्ने छ । हो– नेपालले पनि त्यसबाट केही फाइदा अवश्य पाउने छ । केही ‘छोटो बुद्धि’का अर्थशास्त्रीहरु छन्, जसले भनिरहेका छन्– ‘हामीसँग उत्पादन नै छैन । के बेच्नका लागि रेल चाहियो ?’ यी ‘मन्दबुद्धि’हरुले के बुझ्न जरुरी छ भने उत्पादनको चाङ लगाएपछि मात्रै हाटबजार पुग्ने बाटो खन्ने काम गरिँदैन । दुई महिनापछि धान पराल स्याहार्नु छ भने दशैँका बेलामा बाटो खन्ने र सफा गरिन्छ । भौतिक उत्पादन र त्यसका लागि यातायातको साधन तयार गर्ने काममा निःसन्देह पहिले यातायातको साधन तयार गर्ने काम नै प्रमुख हो । नत्र त कुखुरा पहिले कि अण्डा पहिले भन्ने अवस्थामा पुगिन्छ । जीव विकासको सिद्धान्तअनुसार कुखुरा नै पहिले जन्मिएको हो ।
हामीले आफ्नो क्षमता चिन्न नसक्दा अन्य मित्र राष्ट्रबाट पनि आवश्यक ‘हलो वा गोरू’ लिन सकेका छैनौं । हामीले आफ्नो क्षमता चिन्ने हो भने मित्र राष्ट्र भारतले सुक्ष्म व्यवस्थापन गर्ने आँट नै गर्न सक्ने छैन । तर हामी सदैव हीनताबोधले ग्रसित हुने गरेका छौँ । यसपाली हामीले लिपुलेकको कुरा उठाउनु पर्ने थियो । हाम्रो पक्षलाई ३३ प्रतिशत जति भ्रम र नदेखाउने गरी ६७ प्रतिशत डर पनि रह्यो होला– दिव्य दुई जुगपछि आएको साथीसँग के गुनासो गर्नु र ? साथीसँग त हो नि गुनासो गर्ने ! गैरसाथीसँग त अरुथोक नै गरिन्छ, गुनासो हैन । हामी नेपालीहरु जहिले पनि अरुको मन दुख्छ कि भनेर ज्यादै डराउँछौँ । त्यसो गर्दा आफ्नो हृदय छियाछिया भएको पत्तै पाउँदा भरताल गर्नै नसक्ने भइसक्छौँ ।
चिनियाँ महामहिम राष्ट्रपति फर्किनु भएको छ । उहाँको यात्रा रमाइलो भएको सम्झना रहोस् । उहाँलाई फर्किफर्की नेपाल आउन मन लागोस् । यसपाली उहाँलाई लुम्बिनी लैजान सकिएन । अर्को पटक आउनु भयो भने उहाँलाई ल्याउने जहाज ओराल्न सक्नेगरी भैरहवा विमानस्थल तयार हुने नै छ ।
फेरि पनि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको समग्र टीमलाई हार्दिक बधाई छ– कुशलताका साथ महाशक्ति राष्ट्र चीनका महामहिम राष्ट्रपतिज्यूको भ्रमण सफल बनाउन सक्नु भएकोमा ! परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीज्यूको कूटनीतिक ‘करियर’का सन्दर्भमा यो भ्रमण महत्वपूर्ण ‘माइलस्टोन’ नै हुने छ– बधाई छ । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेलज्यू पनि यस सफल भ्रमणका एकजना महत्वपूर्ण सूत्राधार हुनुहुन्छ । उहाँलाई पनि बधाई । समीक्षाको अन्तिम वाक्य– अर्को पटक तयारी अलि राम्रो होस् र समाधानका लागि समग्र समस्या राख्न सकियोस् ।