पुष्पराज अधिकारी मकवानपुर । निर्माण शुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित आयोजनाले हालसम्म १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा पठाइसकेको जनाएको छ ।
कुलेखानी दोस्रोबाट पास गरेको पानी १३ दशमलव ५ क्युसेकमा स्थानीय खानीखोलाको २ दशमलव ५ क्युसेक पानी थप गरी कुलेखानी तेस्रोको टनेलमा १६ क्युसेक पानी पठाउने गरी निर्माण गरिएको छ । आयोजनाको दुईवटा युनिटमध्ये एउटाबाट दशैँ अघि र अर्कोबाट असोज १७ गतेबाट परीक्षण उत्पादन शुरु भएको हो । हाल टर्वाईन, जेनेरेटर लगायत मेशिनहरुको क्षमता परीक्षणको काम भइरहेको छ ।
कुलेखानी तेस्रो आयोजना आयोजना भित्र रहेका दुईवटा युनिबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । तर कुलेखानी दोस्रोले पठाउने पानीको आधारमा यसले विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । कुलेखानी दोस्रो आयोजना भैंसेबाट ४ दशमलव २ किलोमिटर सुरुङमार्फत आयोजनास्थल सानुटारसम्म पानी ल्याइएको छ ।
सम्झौता अनुसार चार वर्षमा सकिनुपर्ने निर्माण कार्य ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष निर्माण अवधि लम्बिएको हो । काममा ढिलाई गरेबापत चिनियाँ कम्पनी जेझ्यिाङ जिन्लुनसँग विद्युत प्रधिकरणले ८ करोड रुपैयाँ लिक्वीड ड्यामेज असुलसमेत गरेको थियो । तिहारभित्र योजना पूर्ण रुपमा हस्तान्तरण गर्ने तयारी भइरहेको इलेक्ट्रोमेकानिकल तर्फको चिनियाँ ठेकेदार कम्पनीले जनाएको छ ।
हालसम्म करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको कुलेखानी तेस्रो आयोजनाले जनाएको छ । योजना हस्तान्तरण हुँदासम्म साढे चार अर्ब रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ । ढिलै भएपनि विद्युत उत्पादन शुरु भएपछि स्थानीयबासी भने उत्साहित छन् । २ अर्ब ४३ करोड रुपैयाँको लागत अनुमान गरी शुरु गरिएको आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । १४ मेगावाट क्षमताको उक्त विद्युत् आयोजना निर्माण शुरु गर्दा प्रतिमेगावाट १७ करोड ३६ लाख खर्च अनुमान गरिएकोमा हाल प्रतिमेगावाट निर्माण खर्च ३३ करोड २१ करोड रुपैयाँ पर्न आएको छ । आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले जनाएको छ ।
कुलेखानी तेस्रोको सिभील तर्फको काम सिनो हाइड्रो र इलेक्ट्रो मेकानिकल तर्फको काम जिझ्याङ जिन्लुन चिनियाँ कम्पनीले गरेको हो ।