शंकरनगर-वनवाटिका सडक राष्ट्रिय चर्चा पाइसकेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमा नगरपालिका १ र २ को सीमामा जोडिएर रहेको छ । यसको भोगाधिकार क्षेत्रफल ५१ हेक्टर पर्दछ । यस क्षेत्रलाई सुन्दर, हराभरा र स्वस्थ मनोरञ्जनयुक्त कसरी बनाउन सकिन्छ भनेर परिकल्पना गर्ने अग्रजहरु कतिपयको इहलीला समाप्त भइसक्यो । कतिपय अझै मौजुदा कार्यस्थलमा अनवरत खटिनु भएको छ ।
२५/३० वर्ष पछि शंकरनगरको बसाईं कस्तो होला ? वातावरणीय प्रभाव कस्तो रहला ? बासिन्दाले न्युनतम मनोरञ्जनात्मक र स्वस्थ जीवनयापनका अवसर कसरी पाउन सक्छन् ? सुन्दर आगतको व्यवस्थापन निश्चय पनि सजिलो थिएन । स्थानीयलाई संगठित गरि वृहत् छलफल र एकमत निष्कर्ष निकालेर संस्थाको गठन र संचालन गर्न सक्नु पनि चानचुने कुरा थिएन । समाजमा कुरा काट्नेहरु पनि कम थिएनन् । अविश्वास प्रकट गर्थे । प्रकारान्तरणले असहयोग पनि गर्थे । तर ती सबै प्रतिकूलताका बावजुद एउटा निस्वार्थी समूहले समाजका खातिर आफ्ना परिकल्पनाहरुलाई साकार बनाएरै छाेड्यो । अग्रज समूहलाई दिलैदेखि हार्दिक धन्यवाद छ । स्यालुट छ ।
वनवाटिकालाई ‘नन्दन उपवन’ जस्तै झकिझकाउ बनाइएको छ । वनवाटिका निर्माण गर्ने मातृ संस्था शंकरनगर सामुदायिक वन हो । यसमा दुईमत हुनै सक्दैन । सामुदायिक वनबाटै निश्चित क्षेत्रफलको भोगाधिकार लिएर बनेको र त्यसैलाई हराभरा, रमणीय र पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ अगाडि बढेको स्वायत्त संस्था हो वनवाटिका । वातवरणीय सन्तुलन नबिगारी वनवाटिकाले आफ्ना लक्ष्य हासिल गर्ने गरि गतिविधि सञ्चालन गर्दैछ ।
अब यो संस्था पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर मुस्ताङदेखि दक्षिण मर्चवारसम्मका आन्तरिक पर्यटकहरुको गन्तव्य बनिसकेको छ । स्थानीय बासिन्दाको त बसिबियाँलो गर्ने थलो नै बनेको छ वनवाटिका ।
सामुदायिक वन र वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) यी दुवै संस्था साविक शंकरनगरका ढुकढुकी बनेका छन् । बिहान–बेलुका चुल्हो बाल्ने दाउरा, पशुका लागि घाँसपात पतकर, किसानका दैनन्दिनी साधनहरु छेकबार लाउने बल्लाबल्ली, घर गोठ झ्याल र ढोकाका काठ वन उपभोक्ता समितिले उपलब्ध गराउँछ ।
वनवाटिकामा सञ्चालित चिडिया घर, चर्खेपिङ, चिप्लेटी, लुढे पिङ, राइचुईं, बालरेल, पुष्पलाल पार्क, बिपी वाटिका, शहीद पार्क आदि सबै उमेर समूहका आगन्तुकलाई मनोरञ्जन दिन पर्याप्त छ । ज्येष्ठ नागरिकका मनोभाव अनुसारको पुस्तकालय र शिक्षणका लागि स्कुल र आमा समूह छन् । अन्य क्षेत्रबाट वनभोज गर्न आउनेका लागि सेडको व्यवस्थापन वनवाटिकाले गरिरहेको छ । भ्यू टावर नगरपालिका र वनवाटिकाबीचको साझेदारीमा भ्यू टावर निर्माणाधीन छ ।
वनवाटिकामा स्थानीय विभिन्न जाती, भाषाभाषी र सम्प्रदायको अपनत्व रहेको छ । उल्लिखित कुराहरु रैथाने उपभोक्ताहरुका आवश्यकता भन्दा भिन्न छैनन् । अति आवश्यकीय सेवालाई सजिलोसँग उपभोक्ता समक्ष पुर्याउन सकेकै कारण वनवाटिकाको गरिमा चुलिएको हो ।
वनवाटिकाको प्रशस्तीले तिलोत्तमा नगरपालिका र यहाँका बासिन्दा पनि सम्मानित हुँदै जान्छन् । तसर्थ दुवै संस्था रैथानेका लागि उत्तिकै महत्वपूर्ण छन् । स्थानीयले दुवै संस्थालाई महत्वका साथ हेरेका छन् । यी दुई संस्थाले रैथानेको उन्नयन गर्न मद्दत गरेको छ । स्थानीयले दुवै संस्थाको निरन्तर श्रीवृद्धिका लागि पहल गर्नुपर्छ ।
शंकरनगरदेखि वनवाटिका तथा सामुदायिक वनसम्मको सडक लगभग १ हजार ५ सय मिटर छ । तर यो सडकको स्तरोन्नतितर्फ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कसैले ध्यान दिएको छैन । जनसंख्या वृद्धि अनुसार सवारी साधनको चाप पनि बढ्दो छ । सडक भने साँघुरो छ । आवागमनमा ज्यादै कठिनाई छ । सडकमा यात्रा गर्ने बालबालिका, महिला र असक्त ज्येष्ठ नागरिकलाई सास्ती हुने गर्छ । वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै जोखिम मोलेर यात्रा गर्नुपर्छ । बत्ती मुनी अँधेरो भन्ने उखान जस्तै छ चर्चा बटुलेको वनवाटिका तथा सामुदायिक वन जाने बाटो ।
आवश्यक कामहरु परिणाममुखी र ठोस हुनुपर्छ । विकासको नाममा हतार गरेर कमसल् र गुणस्तरहीन काम गरिनु हुँदैन । आर्थिक वर्षको अन्त्यमा झारा टार्ने शैलीमा विकास निर्माणका काम भइरहेको छ । पर्यटकीय गन्तव्य नभएका सडक फराकिला र स्तरीय छन् । तर वनवाटिका पुग्ने सडक अलपत्र छ । सानो दुरी भएपनि जीर्ण सडकका कारण ओहोर–दोहोर गर्दा अप्ठेरो हुन्छ । शरीर थिल्थिलो बनाउँछ । गन्तव्यमा पुग्दा लोभलाग्दो वैभव देखिन्छ तर सडक सम्झिदा बिरक्त लाग्छ । यो सडकमा ओहोर– दोहर गर्नेहरुमा तीन तहका सत्तासीन नेता, राष्ट्रसेवक, पत्रकार, लेखक र वुद्धिजीवि सबै पर्छन् । स्तरीय सडक नभएकै कारण सयौं वनौषधि, जैविक विविधतायुक्त सामुदायिक वन तथा सुरम्य वनवाटिका र सौन्दर्यपूर्ण अनेकानेक दृश्यावलोकन, बु्द्ध बिहार, विपासना केन्द्र, पुरानो शारदा माध्यमिक विद्यालय, शंकरनगर क्याम्पस, दुर्गा मन्दिर आदि ठाउँहरु ओझेलमा परेका छन् । । ६ लेनको मुख्य राजमार्गबाट ओर्लिएर सरर वनवाटिका पुग्न सकिने स्तरीय सडक भए पर्यटकको संख्यामा ह्वात्तै वृद्धि हुने थियो । तसर्थ बेलैमा यसको महत्वलाई बुझेर सडक स्तरोन्नति होस् !
वनवाटिका तथा सामुदायिक वनलाई देश देशान्तरसम्म चिनाउन सकौेँ । यसको उन्नति र प्रगतिमा आइपर्ने व्यावधान र तगाराहरुलाई सामुहिक रुपमा प्रतिवाद गरौँ । आन्तरिक पर्यटनको प्रवर्द्धन गरौँ । रोजगारीको सृजना गरौँ । विभिन्न रोजगारमुलक कार्यक्रम सञ्चालन गरौँ । यसबाट तिलोत्तमा नगरपालिकाको विकासमा टेवा पुग्ने छ ।
सामुदायिक वन र वनवाटिका रैथाने सम्पूर्ण उपभोक्ताका दुई संस्था हुन् । यी दुई संस्था संचालन गर्ने व्यवस्थापन रैथाने उपभोक्ताबाटै छानिएका हुन् । उपभोक्ताले चयन गरेका नेतृत्वदायी व्यक्तित्वहरुबीच जुँगाको लडाइँ गर्नु हुँदैन । उपभोक्ताको हितभन्दा बाहिर जानु हुँदैन । व्यवस्थापन समूहबीच जुँगे लडाइँ हुँदा उपभोक्ताले प्राप्त गरेका अवसर गुम्छ । दुवै संस्थाको श्रीवृद्धि अवरुद्ध भयो भने अक्षम्य अपराध गरेको ठहर्छ । उपभोक्ता मारेर अरुलाइ पोस्ने काम नगर्नुस् । उपभोक्ताहरूकाे तर्फबाट खबरदारी गरिँदै छ ।
अन्त्यमा हाल तिलोत्तमा नगरपालिका वडा नं. १ ,२ ,३ र ४ साविक शंकरनगरका बासिन्दाले वनवाटिका गुलजार गराउन र संरक्षण गर्न धेरै पसिना बगाएका छन् । मेहनतमात्र गरेका छैनन् व्ययभार पनि खेपेका छन् । अधिकार संरक्षण गर्न संघर्ष पनि गरेका छन् । धेरै पटक हस्तक्षेप र ज्यादतिलाई परास्त गरेका छन् । बल्ल यो हरियाली र मनोरम उद्यान बनेको छ । अग्रजहरुको योगदान स्वर्णाक्षरले लेखिने छन् । अग्रजले जोगाएको विरासतमा हामी गर्व गरिरहेका छौं । आउनुहोस् अबका दिनमा पनि अग्रजले छाेडेर गएका धरोहरलाई जोगाउँ । वनवाटिकालाई झन् हराभरा पारौँ । आन्तरिक पर्यटनको प्रवर्द्धन गरौँ । समृद्धिको बाटो पहिल्याऔँ । बरु सबै उपभोक्ता मिलेर प्रश्न गरौँ, सवाल उठाऔँ – किन सडकको स्तरोनन्ति भइरहेको छैन ? कसले र किन अवरुद्ध पारेको छ ? जय होस् ।