धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश इन्चार्ज भिम रावलले पश्चिम सेती र माथिल्लो कर्णाली परियोजना नेपाल सरकारलाई बनाउन माग गर्नु भएको छ ।
सुदूरपश्चिम र मध्यपश्चिमको बिकासका लागि यि आयोजनाको काम तत्काल सुरु गर्नुपर्ने भन्दै नेता रावलले सरकारका लागि आयोजना निर्माणमा लाग्ने रकम यहाँका जनताले नै उठाउन सक्ने धारणा राख्नुभयो ।
बिकासका कामको सुरुवात पुर्व बाट गर्ने परम्पराको अन्त्य गर्दै अब सुदुरपश्चिमबाट गरिनु पर्ने नेता रावलको धारणा छ । उनले नेपालको पुर्व पश्चिम रेल चलाउने प्रसंग उठाउँदै अब रेल मार्गको निर्माणको शुरुवात पूर्वबाट नभए पश्चिम नाका गड्डाचौकीबाट गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डसमेत उपस्थित रहनुभएको पार्टीबाट निर्बाचित जनप्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीको भने, ‘सुदुरपश्चिमलाई विकासको कुरा देखी अन्य राजनीतिक नियुक्तीमा पनि पार्टीले समेत उपेक्षा गरेको आरोप लगाए ।’
नेता रावलले आफूलाई पश्चिमका जनताले राजदूत नियुक्त भए हाम्रो सुदूरपश्चिममा राजदूत नियुक्त हुन योग्य कोही छैनन् कि क्या हो ? र न्यायाधीश हुन योग्य यस क्षेत्रमा कोही बिषय विज्ञ छैनन् र ? भन्दै सोध्ने गरेको उल्लेख गर्दै प्रश्नको उत्तर आफूसँग भएपनि जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । अध्यक्ष प्रचण्डलाई इंगित गर्दै रावलले भन्नुभयाे, ‘पश्चिम सेती, सुख्खा बन्दरगाह, माथिल्लो कर्णालीको नाम हामीले कहिलेसम्म जपिरहनु पर्ने हो ।’
कार्यक्रममा सुदुरपश्चिम प्रदेशमा गत निर्बाचनमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई उनकै जिल्लामा सिमित राखेर नेकपाले अन्य सबै जिल्लामा जित हात पारेको स्मरण गराउँदै इन्चार्ज रावलले अब यस्तै भयो भने पार्टीलाई कसरी आगामी निर्बाचनमा जिताउन सकिएला र ?भनेर प्रतिपश्न गर्नुभएको थियो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले नेपाल कम्युनिष्ट पार्टी नेपालको राष्ट्रीयता, अखण्डता र स्वाभिमानकाे रक्षाको निम्ती उभिएको पार्टी भएकोले विदेशीका सामु नझुक्न नेतृत्वलाई खबरदारीसमेत गर्नुभएको छ ।
यस्तै, सोही कार्यक्रममा बोल्दै नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीले सुदुरपश्चिमको बिकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले देशमा हुने हरेक परिवर्तनमा सुदुरपश्चिमको ठुलो योगदान हुने गरेको भएपनि त्यसको उचित मुल्याङ्कन पार्टी र नेतृत्वले गर्न नसकेको धारणा राख्नुभयो।