आजको दुनियाँ, विधिको दुनियाँ !

आजको संसार विधि विधान बिना चल्दैन ! कसैले विधि विधान बिना चलाउँछु भनेर पनि सक्दैन । पहिले पहिले बिना विधि विधान ठूल्ठूला साम्राज्य चल्ने गर्थे । राजा रजौटाका राज्य चल्थे । तिनका दैवी सिद्धान्तमा आधारित शासन चल्थे । अहिलेको दुनियाँमा शक्ति र हाल हुकुमको डरले केही दिन मानिसलाई अलमल्याउन सकिएला । यसो शासन चले जस्तो पनि देखिएला तर त्यो क्षणिक मात्र हुन्छ । आजको दुनियाँ यति व्यापक र पहुँच बाहिर गईसकेको छ कि कसैले पनि मान्छेलाई अधिनमा राख्न खोजेर सहज हुनेवाला छैन ।

आजको राज्य लिखित संविधानका आधारमा चल्छ । संविधान बमोजिम बनेका ऐन, कानुन र नियम अनुसार चल्दछ । संविधान, कानुन र परम्पराले स्थापित गरेको प्रणालीद्वारा चल्दछ । यो आधुनिक संसारमा संविधान कानुन र विधिलाई ठगेर कसैले आफ्नो हातमाथि पार्न सम्भव छैन । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । विकसित विज्ञान तथा प्रविधिले संसारलाई अति नै सानो तर व्यापक र जटिल बनाइदिएको छ । राज्यमा के भइरहेको छ ?  कसैले लुकाउन चाहेर पनि लुक्दैन । समाजमा के भइरहेको छ ?  त्यो पनि लुक्दैन । व्यक्तिहरू के गर्दैछन् ? त्यो पनि लुकाएर लुक्दैन । व्यक्तिका कतिपय निजी मामला समेत खुला रुपमा बाहिर आइरहेका छन् । त्यसकै कारण कतिको क्यारिएर बनेको छ । कतिको भविष्य चौपट भएको छ । यो हो आजको दुनियाँ ! यी र यस्ता सबै  विषयलाई विधि र विधानले मात्र व्यवस्थित सु–संगठित र नियमित गर्न सक्छ ।

अहिले हाम्रो देश नेपालको संविधान (२०७२) मार्फत चलिरहेको छ । संविधान अनुसार राज्य व्यवस्थित छ । संविधान अनुसार सरकार चलिरहेको छ । संविधान अनुसार नै शासन प्रशासन र दैनिक जीवन समेत संगठित हुँदै गइरहेको छ । हाम्रो संवैधानिक व्यवस्था दलीय व्यवस्था हो । त्यसैले सरकार पार्टीले चलाइरहेको छ । पार्टी कसले चलाइरहेको छ ? पार्टी त विधि विधानले चल्छ । विधि विधान बाहिर कोही पनि जान सक्दैन । कोही पनि विधि विपरीत चल्न थाल्यो भने अराजकता फैलिन थाल्छ । विधि र प्रकृया बाहिरबाट पार्टी वा सरकार संचालन गर्न खोजियो भने के हुन्छ ? परिणाम जग जाहेर छ, दुनियाँले ल्याइरहेका छन् ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी मिलेर चुनाव लड्ने कुरा आयो । सारा जनता हर्षित भए । राम्रो परिणाम आयो झन् खुशी भए । सरकार गठन भयो अझ खुशी भए । पार्टी एकताको घोषणा भयो । खुशीको सीमा नै रहेन । तर जब एकता प्रकृया अघि बढाउने र टुंग्याउने कुरा हुन थाल्यो । असन्तुष्टि, आक्रोश, विरोध, विग्रह मात्र होइन भय समेत बढ्न लागेको छ । कारण के हो ? खोजौ त । कारण स्पष्ट छ । एकता प्रकृयामा हामीले जुन मात्रामा विधि, विधान, परम्परा र सामान्य प्रकृयालाई तोड्यौँ त्यही मात्रामा समस्या प्रकट भइरहेको छ । त्यही मात्रामा प्रतिकृया आइरहेको छ ।

केन्द्रीय कमिटी गठनका बेला केन्द्रीय समितिको संख्या र मापदण्ड तोकियो । संख्या पुर्याइयो तर मापदण्ड तोड्ने काम भयो । पूर्व केन्द्रीय सदस्यहरू मध्यबाट, नवौँ महाधिवेशनका निकटत्तम प्रतिस्पर्धी उम्मेदवार र जनसंगठन हाँकिरहेका नेतालाई ल्याउने मापदण्ड बनाइयो । पूर्व केन्द्रीय सदस्य ककस्लाई किन छुटाइयो जवाफ कस्ले दिने ?

जन संगठन हाँकिरहेका कामरेडहरू छोडेर थाकिसकेका कमरेडहरूलाई ल्याइयाे यसको जवाफ कसले दिने ? यसरी पहिले पार्टीको केन्द्रीय कमिटी गठनमै विधि र मापदण्ड तोडियो । गडबडी त्यहाँबाट शुरू भयो । त्यसलाई समयमै सच्याएर अघि बढ्नु पर्नेमा रोग बढ्दै गयो । त्यो रोगको मात्रा घट्नुको साटो झन् बढ्दै गइरहेको छ । अझ बढ्दै गयो ।

प्रदेश गठनमा त अझ लाजमर्नु गरियो । मापदण्डको धज्जी उडाइयो । पहिले प्रदेश कमिटीमा रहिरहेका, प्रतिनिधि परिषद् सदस्य भएका वा अञ्चल कमिटीमा बसेर काम गरेका कमरेडहरू मध्येबाट मनोनयन गर्नुपर्ने थियो । मनोनयनमा बाटो बिराइयो र पहिले आफूलाई त्यसपछि आफ्नालाई अनि आफ्ना गुटकालाई भन्ने ठाउँमा पुर्याइयो । प्रदेश नम्बर दुईमा त निर्वाचित प्रदेश सदस्यलाई समेत सडकमा पुर्याएर पार्टीको विधान, स्थायी कमिटीको निर्देशन र परिपत्रलाई नै उल्टाएर खल्तीका परम प्रीय कमरेडहरूलाई कार्यकर्ता बनाएर प्रदेश कमिटीमा ल्याउने होड नै चल्यो ।

जिल्ला कमिटी गठनको त कुरै गर्नु परेन । जस्ले जति सक्यो उस्ले त्यति कुम्ल्यायो । लाग्छ यो पटकको कमिटीमा हातमाथि पार्न पाए यश ऐश्वर्य मात्र होइन स्वर्ग प्राप्ती हुन्छ, या अहिले सम्मको त्याग, तपस्या, वलिदान र जेलनेल भोगेको फल एकैचोटी प्राप्त हुन्छ । यति मारामार यति दौडा दौड कि कुरा नगरौँ । पार्टी बाहिरका होइन पार्टी भित्रका आफ्ना आलोचक तह लगाउने मौका कै रूपमा यसलाई प्रयोग गरियो, कि दुनीयाँ कब्जा गर्ने मौका नै यही हो । अनि पार्टीमा आफ्नो कमजोर राजनीतिक भविष्यलाई सुदृढ गर्ने शुरू र अन्तिम मौका पनि यही हो । प्रदेश नम्बर दुईको बर्दीबासमा शपथ ग्रहण प्रकरणको नाममा भएको द्वन्द्व त्यसैको परिणाम हो ।

पार्टीको शपथ ग्रहण कार्यक्रममा मान्छे शुभकामना दिन जान्छन् । ताली बजाउन पो जान्छन् त, लाठी खान को जान्छ ? कही नभएको जात्रा हाडी गाउँमा भयो । कारण त्यही हो । मान्छेले सबै कुरा सहन्छ तर अन्याय सहन गर्न उसलाई ज्यादै कठिन हुन्छ । प्रदेशमा यी सबै काम प्रदेश कमिटीकै नाममा गरिएको छ । जबकी प्रदेशमा अहिलेसम्म ९ जनाको प्रदेश कार्यालय गठन भएकै छैन । सचिवालय गठन भएको छैन । कार्यालय र कार्यालयको विस्तारित बैठकको नाममा इच्छाइएका व्यक्तिहरू राखेर यी सब कर्महरू भएका छन् । यहाँ प्रदेश कमिटीको व्यवस्थित बैठक गर्ने र प्रदेशका सबै कमरेडलाई मिलाएर अघि बढाउने सम्बन्धमा कुनै प्रयास भएको देखिदैन ।

पार्टीको केन्द्रीय कमिटी छ । छ/छ महिनामा बैठक बस्नु पर्ने हो । विधानमा त्यही व्यवस्था छ । पोलिटव्यूरो अहिलेसम्म गठन हुन सकेको छैन । सयाैँ कार्यकर्ता उसै बसेका छन् । केन्द्रीय आयोग, सल्लाहकार परिषद र विभाग बनेका छैनन् ।

पार्टीको स्थायी कमिटी कार्यकारी कमिटी हो । त्यसैले गर्ने काम सबै सचिवालयले गरिरहेको छ, त्यो पनि अत्यन्त सुस्त गतिमा । नामै स्टान्डिङ कमिटी । बैठक बस्न सधैँ स्टैण्ड वाई बस्नु पर्ने भएर नै स्टान्डिङ कमिटी भनेको हो । त्यो कमिटीका सदस्य १५ महिना देखि बैठक कुरेर स्टैण्ड वाई बसी रहेको छ । बैठक बस्दैन । कारण के जनता हुन र ? विरोधि या प्रतिगामीको कारण बैठक हुन नसकेको हो र ?

पार्टीका महत्वपूर्ण नीतिगत निर्णय गर्नुपर्ने केन्द्रीय कमिटीको डेड वर्षदेखि बैठक बसेको छैन । मौलिक हक कार्यान्वयनदेखि लिएर सयौँ राष्ट्रिय जीवनमा प्रभाव पार्ने नीतिगत विषय आए गए तर केन्द्रीय कमिटीले चालै पाएन । पार्टीको अध्ययन र सिफारिस बेगर भएका कतिपय अपरिपक्व काम र आएका ऐनका कारणले पार्टी र सरकार वदनाम भयो । कसैले जिम्मा नलिने परिस्थिति आयो । यो हाम्रो जस्तो जनता बीचबाट आएको र जनताका बीचमा काम गर्नुपर्ने पार्टीका लागि सुहाउने विषय होईन ।

यी र यस्ता विषय तमाम पार्टीका कार्यकर्ताको चासोका विषय हुन् । यस्ता विषयमा त कार्यकर्ताका समेत राय सुझाव लिएर काम गर्नु पर्नेमा केन्द्रीय कमिटी, स्थायी कमिटी समेत बेखवर छ । कसरी सकारात्मक परिणामको आशा गर्न सकिन्छ र ?

जब जनतामा नकारात्मक टिप्पणी शुरू हुन्छ तब कार्यकर्ताको चासोको विषय हुन्छ । कार्यकर्ताको चासोको विषयमा उस्ले टिप्पणी गर्न थालेपछि अनुशासनको कुरा आउँछ । अनि फर्मान जारी हुन्छ । कुरा कमिटीमा राख । विचरा कार्यकर्ता डेढ वर्षदेखि कमिटी पर्खेर बसेका छन् । उनीहरूको पालो आएकै छैन । सकभर नआउने नै होला । कमिटीमा बस्ने पालो आए त कुरा राख्लान् कार्यकर्ताले । पालो नआए कता कुरा राख्ने विचरा ! पालै नआए के पो गर्ने हो ! राख्दै राख्दैनन् । अनि केही कुरा राखिहाले भने अनुशासनको दरो डण्डा वर्षिने डर ! अथवा जनतासँगको सम्पर्क टुटेपछि संगठन नै स्वार्थीहरुको चंगुलमा पुग्ने डर !

वडो गज्जब छ । जनताको पार्टी, जनतालाई सिकाउनु पर्ने पार्टी, जनताबाट सिक्नु पर्ने पार्टी हो । विडम्वना जनतालाई अनुशासन सिकाउँछ । आफू जनताको पनि गुरू बन्छ । गुरू चाहिँ आफू खुशी (मनपरी) गर्छ । चेलालाई सोठ्याउछ । अब कहाँ त्यो दुनियाँ छ ? गुरू गुण चेला चिनी भैसक्यो । अब आदेश र निर्देशनले चल्ने जमाना गयो । अब पहिले आफू गर । अनि बल्ल अरूलाई भन । आफू काम गरेर देखाउ अनि अरूलाई आदेश देउ । केवल आदेशको मूल्य छैन अब । मुखले काम चल्दैन अब ! गरेरै देखाउनु पर्छ । पहिले तिमी अनुशासित बन न, अनि अरूलाई भन ।

सचिवालय बैठक विधानमा तोकिए वमोजिम गर । स्थायी कमिटी बैठक रेगुलर गर । केन्द्रीय कमिटी बैठक नियमित गर । पोलिटव्यूरो अहिलेसम्म गठन भएको छैन । गठन गर । त्यसको पनि बैठक नियमित गर । केन्द्रीय निकायको गठन गर । अनि नियमित बैठक गराउ । विधान लागू गर, अनि अरूलाई भन न । अनि पो पत्यार लाग्छ । तिम्रो कुरा पत्याउँछ दुनियाँले । आफ्नो भागमा काम धेरै राख्या छ । काम गर्न सक्या होइन, अरूतिर फर्केर औंला ठड्याएको ठड्याएई गरेर कसरी मिल्थ्यो है ! मिलाउ साथी मिलाउ, माथिबाटै मिलाउ । हामीले यो उ भनेका छैनौँ ! सबैलाई जिम्मा लगाउ । मज्जाले काम गरौंन । फुर्सद कसैलाई नदिऊ । भटाभट काममा लागौँ । पहिले आफूलाई ठिक पाराैँ । अनि समाजलाई ठिक पाराैँ । पहिले आफू बदलिउँ, अनि समाज बदलौँ ।

देश जस्तै प्रदेश, जिल्ला र स्थानीय तहको हकमा पनि कुरा त्यही हो । कमिटीको पहिलो काम आफूलाई सुदृढ गर्नु हो । आफ्ना सदस्यहरूको कार्य विभाजन गर्नु, कार्यालय अनि सचिवालय गठन गर्नु हो । त्यसपछि आफ्ना परिषद, आयोग अनि विभाग गठन गर्नु हो । तिनलाई नियमित र व्यवस्थित गर्नु हो । आफ्नो धोतीको ठेगान छैन अरूको लगौटी हेरेर हुन्छ र ! आफ्ना कमिटीको व्यवस्थित बैठक आयोजना गर । कार्यालय, सचिवालय बनाउ, तिनको वैठक राख र योजना बनाउ । छलफल बहस चलाउ । असल र सुन्दर वातावरण बनाउ । आयोग, परिषद र विभाग बनाउ । तिनको बैठक गर, भेला गरेर मार्ग निर्देशन गर । जनमत बनाउने काममा लगाउ । पार्टीमा हाकीम बन्ने त होइन नी साथी । सबै मिलेर बस्ने समानताको सम्झौतामा पो मान्छे पार्टीमा आएका हुन् । कसैको कारिन्दा हुन् त आएको होइन नि साथी । सम्मानपूर्वक सबैलाई जिम्मेबारी देउ अनि पो केही हुन्छ । सबैले होस्टेमा हैँसे गरे पो काम अघि बढ्छ । एक्लै हुने भए त अरू एक्ले वीरहरूले पनि त केही गर्थे होला नी साथी । अलि विचार गरौँ  है । सबैलाई मिलाएर अघि बढौँ । मिलेर देश बनाऔँ । जुटेर देश बनाऔँ । जय होस् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…