रामभरोसि यादब सिरहा । नेपाल भारत सीमाको दसगजा क्षेत्र नजिकै पर्ने सिरहाको दक्षिणी भगवानपुर गाउँपालिका–४ ठाढी भन्सार नजिकै तस्करको गोदाममा प्रहरीले छापा मारेको छ ।
तस्करले भाडामा लिएको घरको गोदामबाट प्रहरीले घरायसी प्रयोजनका सामग्री, खाद्यपदार्थ, लत्ताकपडा, मोटरपार्टस्, हार्डवयर, कस्मेटिक्सका गरि १३ लाख भन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालको कमाण्डमा खटिएको टोलीले स्थानीय बली कामैत र गोपाल कामैतको घरलाई प्रयोग गरिएको गोदामबाट चोरी पैठारी गरि भित्र्याइएको सामान बरामद गरेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख चतुर्वेदीका अनुसार प्रहरीले १३ लाख ३६ हजार पाँचसय ५८ रुपैयाँ ४० पैसा मूल्यका सामान बरामद गरि ठाढी भन्सारलाई बुझाएको छ । ‘तस्करले भन्सार छलेर भित्र्याएका सामान दशगजा क्षेत्रको घरमा थन्क्याएको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरियो’ प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो ‘बरामद गरिएको सामान कस्को हो भन्नेबारे अनुसन्धान हुँदैछ ।’ घर छापा मार्ने क्रममा सामान बरामद भएपनि घरधनीबाट सामान थन्क्याउनेको नाम नखुलेकाले तस्कर पक्राउ गर्न नसकिएको उहाँको भनाइ छ ।
सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले नायव उपरीक्षक रिजालले प्रदेश प्रहरी, जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटले चोरी तस्करी, सीमा क्षेत्रमा हुने अपराधविरुद्ध शून्य सहनशीलताको नीति लिएकाले सफलता हात लागेको उल्लेख गरे ।
‘सीमा चोरी तस्करी रोक्न प्रहरीले सीमित साधन श्रोत र जनशक्तिको अधिकतम् उपयोग गरि काम गर्दैछौं’, प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।