काठमाडौंबाट नजिकैको गन्तव्यहरु मध्येको एक हो, थानकोट त्रिभुवन पार्क । हप्ताभरिको थकान, काठमाडौंको धुँवाधुलो र होहल्लाबाट अलि पर जान चाहेका हुन्छन् । त्यसबेला पार्कको खोजि शुरु हुन्छ । हामीले पनि दशैं र तिहारको बीचमा एक शनिबार थानकोट जाने निर्णय गर्यौं । कहाँ जाने ? राम्रो पार्क कहाँ छ ? हामीबीच छलफल चलिरहेकै थियो । नविन पल्लव दाईले थानकोट त्रिभुवन पार्क जाने निर्णय गर्नुभयो । म भने उत्साहित थिएँ, एक वर्षदेखि म उपत्यकाबाट टाढा कतै गएको छैन । यसैले एकदिन भएपनि सुखको श्वास फेर्ने आभाष गरेको थिएँ । मलाई भने थाहा थिएन, त्रिभुवन पार्क कहाँ पर्छ र कस्तो छ ? यसैले नयाँ गन्तव्यमा जान पाईने कुराले पनि म उत्तिकै उत्साहित थिएँ । शनिबारको दिन सबैको छुट्टी थियो, मेरो बाहेक । मैले बिहान ड्युटी गरेर आउने प्रतिवद्धता गरेँ ।
चाँडै निस्किने प्रयास गर्दा गर्दै दिउँसोको पौने दुई बजिसकेछ । म अफिसबाट निस्किएर नयाँ बानेश्वर चोकमा आईपुगेँ । अनि थानकोट जाने बसमा चढेँ । मैले फोन गरेर बस चढिसकेको जानकारी दिए । जब कलंकी काटेर चन्द्रागिरीको उकालो शुरु भयो । जाम पनि शुरु भयो । अगाडि सडक निर्माणको काम भईरहेको रहेछ । राति गाडीको चाप कम भएपछि गर्नुपर्ने काम दिनमै गरेपछि गन्तव्यमा जान हतार हजारौं यात्रुहरु सडकमा कुरेर बसिरहेका थिए । मलाई गन्तव्यसम्म पुग्न करिब एक घण्टा नै लाग्यो । बसले त्रिभुवन पार्कको गेटैमा ओरालिदियो ।
मैले त्रिभुवन पार्क फोटोहरुमा धेरै देखेको थिएँ । ठुलो अनि आकर्षक गेट । प्रवेश गर्ने वित्तिकै पछाडि एउटा सानो पोखरी, सानो भर्याङ र त्यसको माथि राजा त्रिभुवनको शालिक । त्यो दृश्य आफै पुगेर पहिलो पटक अनुभव गर्न पाएको थिएँ मैले । बाहिरको गेटबाट उत्साहित हुँदै जब गेटमा प्रवेश गरेँ, फोटोको दृश्यमा जस्तो अवस्थामा राजा त्रिभुवनको शालिक थिएन । गेटको दायाँतिर गर्ल्याम्मै लडिरहेका थिए राजा त्रिभुवन । पोखरी छ, फोहोर पानी, शालिक राखिएको स्थान फाटेर धुँजा–धुँजा भएको छ, पिकनिक स्थल पनि उस्तै जीर्ण । भान्साघर, दुर्गन्धित शौचालय, धूलोले ढाकिएका रुख तथा फूलहरु । वरिपरि राखिएका ठुला वत्तिहरु सबै बिग्रिएका थिए ।
उत्तानो परेर भुइँमा लडिरहेका त्रिभुवनले आकाश नियाल्दै पुनर्निर्माण पर्खिरहेका छन् । रूखपातसँगै लडेका राजा त्रिभुवनले पार्कमाथि भएको हेलाहोचोको कथालाई बोलौंला झैँ मुस्कुराई रहेका छन् । तर, उठाउन कोही पनि पुग्दैनन् । युवाहरुको एक जमात जान्छ । लडेका राजालाई जिस्क्याउँदै उठाएको जस्तै पोज दिएर, शालिकलाई सुमसुम्याउँदै रुदै गरेको फोटो र भिडियो बनाएर फर्किन्छन् । अर्को एक जमात जान्छ । राजा त्रिभुवनको शालिकभित्र आफूले पिएको पानीको बोत्तल र अन्य खानेकुरा लगेका प्लाष्टिकका झोलाहरु फोहोरको डंगुरमा फालेझैँ शालिकभित्रै फालेर फर्किन्छन् । यसले जिवित इतिहास हेर्न त्रिभुवन पार्क पुग्नेको मन खिन्न हुन्छ ।
त्यो शालिक २०७२ बैशाख १२ गतेको भूकम्पले ढालेको रहेछ । यसपछि निर्माण हुन सकेन त्यहाँको विशाल ढुङ्गे स्मारक पनि अहिले शालिक राख्न योग्य छैन, क्षतविक्षत बनिसकेको छ । तर, विडम्बना नयाँ निर्माण गर्न बजेट नभए पनि शालिकलाई अन्त कतै सुरक्षित स्थानमा सार्नुको साटो त्यही ठाउँमा लडाएर फोहोर फाल्ने डस्बिनको रुपमा प्रयोग गरिएको छ ।
राजाको शालिकलाई लिएर विभिन्न टिका टिप्पणीहरु हुने गरेका छन् । मानौँ हामीलाई त्यो शालिकको आवश्यकता छैन । तर, पार्क र कलाको आवश्यकता त छ नि । इतिहास बोल्ने कलाको संरक्षणका लागि मात्र भएपनि त्यसलाई उठाउनु राज्यको कर्तव्य हो । एकातिर बढ्दै गरेको नाबालकलाई त्यो एक विभूतिको शालिक हो भनेर घोकाईन्छ । र अर्कोतिर त्यही शालिकमाथि राजनीति चलिरहेको छ । ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण पार्कलाई कसले संरक्षण गर्ने ? पार्क अतिक्रणको जोखिम पनि उस्तै छ ।
शालिकमाथि आक्रमणविभिन्न समयमा भएका आन्दोलनमा राजा त्रिभुवनका शालिकहरु ढाल्न खोजिएकै थियो । बनेपा र नेपालगञ्जमा रहेका शालिकलाई उन्मत्त हुलले फोरेर फालिसकेको छ । यसैगरि काठमाडौंको शहीद गेटमा रहेका चार शहीद दशरथ चन्द ठाकुर, शुक्रराज जोशी, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमाको शालिकमाथि रहेका राजा त्रिभुवनको शालिक तत्कालिन सरकारले नै हटाउने निर्णय गरेको थियो । २०७१ फागुन प्रजातन्त्र दिवसको अघिल्लो दिन सर्वोच्च अदालतले यो निर्णय बदर गर्यो ।
२०६२/०६३ को आन्दोलनका घाइतेहरुले पनि शहीद गेटबाट राजाको शालिक हटाउनु पर्ने माग राखेका थिए । जनआन्दोलन लगत्तै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री र मन्त्रीहरुले शपथ खाएपछि फूलमाला चढाउने परम्परा शुरु गरेका थिए । तर, निर्वाचनपछि प्रधानमन्त्री बनेका तत्कालिन माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यो परम्परा तोड्दै शहीद गेट नभई लैनचौरको शहीद पार्कमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्रिभुवन पार्कसँग नेपालको इतिहास जोडिएको छ । राजा त्रिभुवनको मृत्युपछि विसं २०२४ सालमा केशव शमशेर जबरा अध्यक्षता रहनेगरि गठन भएको नौ सदस्यीय समितिले १ सय १२ रोपनीमा फैलिएको जमुना चउरलाई राजाको सम्झनामा पार्क दर्ता गरेको थियो । २०२७ फागनु ७ गते तत्कालिन प्रधानमन्त्री कृतिनिधी विष्टले स्मारकको शिलान्यास गरेका थिए । २०२८ फागुन ८ तत्कालिन राजा वीरेन्द्रले ढुङ्गे स्मारकमाथि उभिएका राजा त्रिभुवनको पूर्णकदको शालिकको अनावरण गरेपछि श्री ५ त्रिभुवन पार्क नामाकरण गरियो । आर्थिक वर्ष विसं २०३०/०३१ बाट सर्वसाधारणका लागि खुला गरिएको थियो । विसं २०६५ मा नाम परिवर्तन गरेर शहीद स्मारक प्रकृति प्रतिष्ठान राखियो ।
राजनीतिक परिवर्तनराजा त्रिभुवनले देशलाई स्वतन्त्र बनाउन र लोकतन्त्र स्थापित गराउन २००७ सालको क्रान्तिमा थुप्रै योगदान पु¥याएका छन् । त्रिपक्षीय दिल्ली सम्झौता, राणाशासनविरुद्ध क्रान्ति गर्नका लागि दरबार छोडेर हिँड्नु र जनताको खुशीका लागि लड्ने राजा त्रिभुवनलाई राष्ट्रिय विभूति नै मानिन्छ ।
विश्वभर प्रजातन्त्रको लहर पनि चलिरहेका बेला नेपाल शासकहरुबाट पीडित थिए । भारत भर्खरमात्र स्वतन्त्र भएको थियो । यसैले राजा त्रिभुवनले नेपाल र नेपालीलाई एकतन्त्रिय राणा शासनबाट मुक्त गराएर प्रजातन्त्र स्थापित गराउने अठोट गरे ।
प्रजातान्त्रिक धारका राणाहरु सुवर्णसमशेर र महावीरसमशेरसँग राजाले गोप्य रूपमा सक्रिय भूमिका खेलिरहे । जुद्ध समशेरलगायत अन्य राणाहरू राजासँग सशंकित भएपछि उनलाई दरबारभित्रै एक किसिमको नजरबन्दको रूपमा राखियो । राजालाई प्रधानमन्त्रीको स्वीकृतिबिना कुनैपनि मानिसलाई भेट्न दिइएन । राजा त्रिभुवन भारतमा रहेर प्रजातन्त्र ल्याउने सोच राखेर ठुलै संघर्ष गरेर भारत पुगे ।
यसपछि २००२ सालमा पद्म समशेर प्रधानमन्त्री बनेपछि राजा त्रिभुवनको झिनो आशा पलाएको थियो । तर, मोहन, बबर र बहादुर समशेरले डर–धम्की देखाएर प्रधानमन्त्री निवास, सिंहदरबार छिर्नै नदिई २००५ सालमा भारतको राँचीबाट जवरजस्ती राजीनामा लेख्न लगाए र रातारात मोहन समशेरलाई प्रधानमन्त्री बनाए । राजा त्रिभुवनसँग सम्बन्ध नराम्ररी बिग्रियो र २००७ सालको दशैंपछि राजा त्रिभुवन पाल्पा जाने कुरा चल्यो ।
पुरुषोत्तम समशेर जबराद्वारा लिखित पुस्तक श्री ३ हरुको तत्थ्य वृत्तान्तका अनुसार यो कुरा तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले थाहा पाएपछि राजालाई पाल्पा जान नदिई दिल्ली ल्याउन नेपालका लागि तत्कालीन भारतीय राजदुतलाई निर्देशन दिए । भारतीय राजदुतलाई भेट्न असम्भव भएकाले साताको दुई पटक काठमाडौं–पटना चल्ने हवाई सेवाको जहाज हेर्न गौचर विमानस्थल जाने स्वीकृतीमा भारतीय राजदुतलाई राजाले प्लेनभित्रै भेट गरे । त्यसपछि २००७ साल कात्तिक २१ गते बिहान सपरिवार भारतीय राजदूतावास शीतलनिवास हुँदै कात्तिक २६ गते भारतीय हवाइजहाजबाट दिल्ली प्रस्थान गरे ।
भारतका तत्कालिन शासकहरुसँगको छलफलपछि राजा त्रिभुवन २००७ साल फागुन ४ गते स्वदेश फर्किए र फागुन ७ गते नेपालमा प्रजातन्त्रकाे घोषणा गरे । राजा त्रिभुवनले देश र जनताका लागि गरेको योगदानको कदरस्वरुप पनि त्रिभुवन पार्कमा ढलेर रहेको शालिकलाई इतिहास झल्कने शिलालेख राखेर भविष्यको विपतले असर नपार्ने गरि पुनर्निर्माण गर्नु उचित देखिन्छ ।