राष्ट्रिय माझी गोल्डकप रामेछापमा र सुनसरी सेमिफाइनलमा

मकवानपुर । बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत बिहीबार भएको क्वाटरफाइनल खेलबाट रामेछाप र सुनसरी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबारको पहिलो खेलमा धनुषालाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको रेफ्री सन्तोष राईले जानकारी दिएका छन् । दोस्रो खेलमा खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै रामेछाप सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुनसरीका लागि जर्सी नँम्ब १० का सविन माझीले खेलको ३१औं मिनेटमा र जर्सी नम्बर ७ का देवबहादुर माझीले खेलको ३५औं मिनेटमा गोल गरेका छन् । यससँगै सुनसरीको जर्सी नँबर ८ का प्रविन माझी ‘म्यान अफ द म्याच’ भए ।
दोस्रो खेलमा रामेछापले खोटाङलाई ४ गोल गर्दा खोटाङले गोल फर्काउन सकेन । रामेछापको तर्फबाट जर्सी नंम्बर १७ का श्याम माझीले खेलको ३३औं मिनेटमा, जर्सी नम्बर १० का नवीन माझीले ४१औं मिनेटमा, जर्सी नम्बर १२ का मनोज माझीले ४७औं मिनेटमा र जर्सी नम्बर १० का नवीन माझीले खेलको ६२औं मिनेटमा गोल गरेका थिए । रामेछापकै जर्सी नम्बर ८ का श्रीकृष्ण माझी ‘म्यान अफ द म्याच’ भए । प्रतियोगिता अन्तर्गत भोली शुक्रबारको पहिलो खेल रामेछाप र ‘मकवानपुर बकैया नीलो’ तथा दोस्रो खेल सुनसरी र सिन्धुलीबीच हुनेछ ।
माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टीम सहभागी भएका छन् । कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टीमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।