शिव अधिकारी यदुवंशी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकताको चर्चा भ्यागुताको धार्नी नपुगेजस्तै भइरहेको छ । एकताबाट पछाडि हटेको अवस्था पनि छैन, प्रगति भएको पनि देखिन्न । पार्टी एकताका लागि पत्राचार र एकताका लागि वार्ता समिति गठन पनि औपचारिकतामा सीमित देखिन्छन् । राजपाबाट राजेन्द्र महतो र समाजवादीबाट राजेन्द्र श्रेष्ठको नेतृत्वमा बनेका वार्ता समितिको गृहकार्य, प्रगति र नतिजा अहिलेसम्म शून्य–शून्यमै कायम देखिन्छ ।
राजपाका तर्फबाट वार्ता टोली संयोजक समेत रहेका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि समाजवादी पार्टीसँग एक्लाएक्लै, बारम्बार र बाक्लै छलफल नगरेका पनि होइनन् । पार्टी कार्यालय, समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको निजी निवास र सरकारी निवासमा पनि महतो पार्टी एकताको झोला बोकेर जान्छन् । झोलाभित्रका एजेन्डा पस्कन्छन् तर परिणाममा पुग्न सक्दैनन् । समाजवादी पार्टीसँग एकताको विषयमा अध्यक्षमण्डलबीचमै विवाद झ्यांगिदै छ र वार्ताको पिङ मच्चिएको छैन ।
अनौपचारिक संवाद भइरहे पनि कुनै ठोस सहमति नजुटे पनि एकता जाँडै हुने राजपाबाट वार्ता समितिको सदस्य महासचिव केशव झाको दाबी छ । छलफल र वार्ताको सुई सकारात्मक दिशामा घुमिरहेको र सभ्भव त चाँडै एकता हुनेमा झा विश्वस्त भए पनि नेता कार्याकर्तालाई विश्वस्त हुन आग्रह मात्रै जस्तो भइरहेको छ । हुन सक्ने आधार पाइरहेका छैनन् ।
समाजवादी सरकारबाट बाहिरिँदा मात्र एकता !यी दुई दलले प्रदेश २ मा मिलिजुली सरकार चलाइरहेका छन् । तर, केन्द्रमा भने राजपा प्रतिपक्ष र समाजवादी सत्तारुढ दल हुन् । सत्ताको नेतृत्व गरिरहेका केपी शर्मा ओली र उनको दल नेपाल कम्युनिष्ट पार्टीसँग राजपाको सम्बन्ध तिक्त नै छ । त्यसकारण समाजवादीले सरकार छोड्दा वार्ता प्रक्रिया अगाडि बढाउन सहज हुने राजपाका नेताहरु बताउँछन् । तर, तत्काल सरकार छोडिहाल्ने अवस्थामा समाजवादी अझ अध्यक्ष उपेन्द्र यादव देखिँदैनन् । बेलाबेलामा सरकार छाड्ने संकेत चैँ समाजवादी पार्टीले लगाइरहेको छ ।
विभाजन हुनसक्छ राजपा ?यही अवस्थामा समाजवादी पार्टीसँग एकीकरण गरिए राजपा नेपाल विभाजन हुनसक्ने सम्भावना रहेको पनि मधेसवादी नेताहरु बताउँछन् । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले समाजवादी पार्टीसँग एकीकरण भयो भने आफू एकीकृत पार्टीमा नजाने र पार्टी फुटाउनेसम्मको प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन् । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र राय यादव एकीकरणको पक्षमा देखिन्छन् भने झासहित अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राजकिशोर यादव विपक्षमा छन् । ‘समाजवादी पार्टीसँग एकीकरणको कुरा मिडियाबाटै सुनेको र त्यसको बारेमा आफूँसँग र पार्टीमा कुनै सल्लाह नभएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको प्रतिक्रिया छ । सामूहिक पार्टीमा एकलौटी निर्णय लागू नहुने तर्क छ सदस्य यादवको ।
कार्यकर्तामा अन्यौलताराजेन्द्र महतो समूह पार्टी एकीकरण गरेर मात्र महाधिवेशन गर्ने पक्षमा छन् भने राजकिशोर र अनिल पक्षधर महाधिवेशनपछि मात्र एकीकरण गर्ने पक्षमा छन् । एकताको विषय लिएर राजपाको अध्यक्ष मण्डलमा रहेका ६ नेता दुईतिर भएपछि राजपाले कात्तिक २७–३० गते गर्ने भनिएको महाधिवेशन नै अन्यौल बनेको छ । राजपाका युवा नेता प्रशान्त गुप्ताले जनता समाचारसँग भने, ‘पार्टीले महाधिवेशनको मिति निर्धारण गरिसकेको छ, हामी तयारी थालिसकेका छौँ र पार्टीका शीर्ष नेताबीच देखिएको खिँचातानी हामी अलमलमा छौँ ।’ महाधिवेशनको समय नजिकिँदै छ, बरु महाधिवेशनपछि नै एकता गरे राम्रो हुने उनको तर्क छ ।
एकतामा छैन प्रगतिसमाजवादी पार्टीका तर्फबाट वार्ता समितिका संयोजक रहेका राजेन्द्र श्रेष्ठ राजपासँगको एकताको विषय अहिलेसम्म गर्भमै रहेको तर्क गर्छन् । औपचारिकरुपमा राजपा र समाजवादी पार्टीले वार्ता समिति त गठन गरेका छन् तर, समितिबीचमा औपचारिक वार्ता भने शुरु हुन सकेको छैन । समाजवादी पार्टीबाट एकता संयोजकमा राजेन्द्र श्रेष्ठ रहे पनि उपेन्द्र यादवले पनि आफैँ महतोसँग भेटेर समय–समयमा भेटघाट गरिरहेका छन् । नाम न खुलाउने सर्त समाजवादीका एक नेताले भने, ‘महतोको व्यक्तिगत स्वार्थका कारण सहमति हुन नसकेको हो र, त्यसको प्रभाव राजपामा पनि परेको छ ।’
सैद्धान्तिक विषयमै विपरीत धारराजनीतिक दलबीच एकता नेता र कार्यकर्ता व्यवस्थापन मात्र होइन । सैद्धान्तिकरुपमा पनि एउटै बाटोमा हिँड्ने सहमति हो । तर सैद्धान्तिक विषयमा मतभेद राखेर नेतृत्वको व्यवस्थापनका लागि मात्र पार्टी एकता गर्न नहुने पक्षमा राजपा र समाजवादी दल दुवैतर्फ बलियो मत छ । राष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीमा उनीहरुबीच सैद्धान्तिक मतभेद छ । राजपा संसदबाट निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छ भने समाजवादी दल प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छ । त्यस्तै, राजपा मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ भने समाजवादी दल पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ ।