चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणले नेपाल चीन बीचको सम्बन्धलाई नयाँ उचाइमा मात्रै पु¥याएको छैन कि, विश्वकै शक्तिशाली देशका रुपमा अगाडि बढ्दै गएको जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले विश्वभरमै नेपालबारेमा चर्चा परिचर्चा हुन थालेको छ । राष्ट्रपति सीको नेपाल भ्रमणका बखत दुई देशबीच भएका सहमति र सम्झौताले नेपालको विकास र समृद्धिका लागि नयाँ ढोका खोलिने भएको छ । यस अर्थमा राष्ट्रपतिको सीको भ्रमण ऐतिहासिक बन्न पुगेको छ ।
भ्रमणक्रममा जारी भएको सहमति सम्झौता आफैँमा दूरगामी र बहुआयामिक महत्वका छन् । खासगरी नेपाल चीनबीचमा विशाल हिमालय श्रृंखलाले आवतजावत गर्न जुन कठिनाइ उत्पन्न गरेको छ र नेपाललाई दुईढुंगाबीच तरुल र भूपरिवेष्ठित देश भनेर चिनिँदै आएको छ, चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्नेक्रममा नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुककारुपमा विकास गर्न चीनले सघाउने र हिमालय वारपार रेल, सडक, विद्युत् र सुरुङमार्गका माध्यमबाट बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्ने घोषणाले चीनको विकास र समृद्धिसँगै नेपालमा विकास र समृद्धिको ढोका खोल्ने आधार तयार भएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालीले अन्तर हृदयले स्वागत गरे ।
राष्ट्रपतिको भ्रमणलाई राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, अन्तर्राष्ट्रिय मामिलाका विज्ञ र सर्वसाधारणले यति धेरै स्वागत गरेको सम्भवतः पहिलो हो । राष्ट्रपति सीप्रतिको नेपालको राजनीति, विकास र समृद्धिका लागि व्यक्त गर्नु भएका विचार झन महत्वपूर्ण छन् । जुन विचारलाई हरेक राजनीतिक दलका कार्यकर्ता, बुद्धिजीवी, र कर्मचारीतन्त्रबाट मुलुकको राज्य सञ्चालनक्रममा तथा पार्टी सञ्चालनका काममा आत्मसात् गर्न सकेमा, साँच्चिकै नेपालको राजनीतिमा स्वच्छता र सुशासनको विकास भई कर्मचारीतन्त्रमा मेरिटोक्रेसी सिष्टमको पनि विकास हुन्छ । र, मुलुकमा सुशासनका मूल्य र मान्यताको विकास हुनसक्छ । राष्ट्रपति सीका मुख्यतया निम्न विचारहरु महत्वपूर्ण रहेका छन् ।
भोजभतेर होइन, अध्ययनमा जोड देऊराष्ट्रपति सीभन्नु हुन्छ, कम्युनिष्ट पार्टीका हरेक नेता तथा कार्यकर्ताले भोजभतेरमा रमाउने होइन, अध्ययन अनुसन्धानतिर रमाउनु पर्दछ । अध्ययनविनाको सोचाइले मानिसलाई उडन्ते बनाइदिन्छ । अध्ययनका लागि समयको व्यवस्थापन गर्नु पर्दछ । तर अधिकांश नेता, कार्यकर्ता कार्यव्यस्तताका कारण अध्ययन गर्ने नै समय हुँदैन भनेर अध्ययन गर्ने कार्यलाई बेवास्ता गरेका पाइन्छ । भोजभतेरतिर समय लगाउने तर अध्ययनतिर समय नदिने मानिस खोक्रा गफ गर्ने फोस्रो गफाडी बन पुग्दछन् । अध्ययन नगर्ने मानिस आफैँ अन्धकारमा हुन्छन् । यस्तो अन्धकारमा रहेका मानिसले अरुलाई सही बाटो र उज्यालोतर्फ डोर्याउन सक्तैनन् । अध्ययनविनाको मानिस अन्धो घोडामाथि चढेको अन्धो मान्छे जो रातको समयमा गहिरो पोखरीमा खस्ने उत्तिकै सम्भावना रहन्छ । वास्तवमा राष्ट्रपति सीका भनाइलाई नेपाली राजनीतिमा राजनीतिक दलका नेताहरुले सिक्न जरुरी छ । अध्ययन चिन्तनका लागि समय नछुटयाई सधैँभर आफूलाई अनुत्पादक कार्यमा व्यस्त गर्ने, आफ्नो परिभाषित काम पार्टी कार्यालयबाट सम्पादन नगरी घरघरै कार्यकर्ता र समर्थकहरुको घुइँचो गराउने र अनावश्यक समय व्यतीत गर्ने राजनीतिक पार्टी नेतामा जुन प्रवृत्ति बढ्दै गएको छ, यसले राष्ट्रपति सीले भन्नु भएझै राजनीतिक नेतृत्वलाई गफाडी बनाउँदै लगेको छ, यसतर्फ नेपालका राजनीतिक दलका नेताले सिक्न जरुरी छ ।
योग्य व्यक्तिलाई नियुक्ति गरराष्ट्रपति सीले पार्टी तथा राज्य सञ्चालनक्रममा नियुक्ति गरिने व्यक्ति सक्षम र योग्य व्यक्ति छनौट गरी उनीलाई जीवनभर जवाफदेही बनाउने गरी नियुक्ति गर्नु पर्ने बताउनु भएको छ । कस्तो किसिमको अधिकारी नियुक्त गर्ने र उसका लागि कुन पद उपयुक्त हुन्छ भन्ने कुरा कामको आवश्यकताअनुसार विचार गर्नु पर्दछ । कुनै पद खाली भएकै कारणले पुरस्कार स्वरुप, कसैलाई त्यसमा नियुक्त, चयन गर्न हुँदैन । एउटा अशल घोडा खतरनाक बाटोमा दौडन सक्छ तर उसले एउटा गोरुले झैँ खेत जोत्न सक्तैन । यस्तै, एउटा बलियो गाडाले गह्रौँ भारी तान्न सक्तछ तर डुंगाले जस्तै नदी पार गर्न सक्तैन तसर्थ पार्टी तथा राज्य सञ्चालनक्रममा नियुक्त गरिने व्यक्ति छनौट गर्दा योग्य व्यक्ति छनौट गर्नु पर्दछ । उनीहरुलाई छनौट गर्दा योग्य व्यक्ति छनौट गर्नु पर्दछ, उनीहरुलाई छनौट गरेपछि राम्रो सम्पदाका रुपमा व्यवहार गर्नु पर्दछ । उनीहरुलाई आफ्नो क्षमताको विकास र प्रदर्शन गर्न पूर्ण अवसर प्रदान गर्नु पर्दछ ।
आचरण सुधार गर, भ्रष्टाचारविरुद्ध संघर्ष गरविकास र समृद्धिको मुख्य शत्रु भनेकै भ्रष्टाचार हो । यसका लागि निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध संघर्ष गर्नु पर्दछ । पार्टीभित्र कडा अनुशासन मजबुत बनाउनु पर्दछ । औपचारिकतावाद, कर्मचारीतन्त्र र विलासीपन र फजुल खर्चलाई हटाउन सक्नु पर्दछ । भ्रष्टाचारका विषयमा मोलाहिजा गर्ने होइन, यसलाई नियन्त्रण गर्न कठोर हुनु पर्दछ र जनताका मागको सम्बोधन गर्नु पर्दछ । पार्टीमा सबै तहमा भ्रष्टाचारविरुद्ध लड्न सबै समिति कर्तव्यनिष्ठ हुनुपर्दछ । पार्टी अनुशासनलाई दृढतापूर्वक हरेक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नु पर्दछ । पार्टीभित्र कुनै पनि अनुशासनहीन गतिविधिको छानबिन र कारबाही हुन्छ भन्ने सुनिश्चितता गर्नु पर्दछ, पार्टीभित्र शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको वैज्ञानिक बाँडफाँड गर्नु पर्दछ । अनुशासन अनुगमन समितिको स्वतन्त्रतालाई र स्वायत्तता सुनिश्चित गर्नु पर्दछ ।
श्रमजीवीलाई सम्मान, कडा परिश्रमठूला सपनाका भाषण गरेर मात्र लक्ष्य हासिल हुँदैन र यसले उज्ज्वल भविष्य सिर्जना हुँदैनन् । फोस्रो कुराले देशलाई हानी पु¥याउँछ र कडा श्रमले फस्टाउछ । तसर्थ श्रमिक वर्गको कार्य र उनीहरुले निर्वाह गरेको ऐतिहासिक भूमिकाको कार्यलाई पूर्ण स्वतन्त्रता दिनु पर्दछ । र उनीहरुको श्रम र सिर्जनाका लागि प्रेरणा जगाउनु पर्दछ । यसका लागि पहिलो, श्रमिक वर्ग आर्थिक सामाजिक क्षेत्रको मुख्य तागत हो भन्ने कुरा सुनिश्चित गर्नु पर्दछ । श्रमिक शक्ति नै समुन्नत समाज र समाजवाद निर्माण गर्ने शक्ति हो भन्ने विषयलाई ध्यान दिनु पर्दछ । दोश्रो, श्रमिक वर्गलाई समाजवादको निर्माणमा परिचालन गर्न उनीहरुमा कर्तव्य र दायित्वको बोध गराउनु पर्दछ । श्रमिक वर्गको विशाल सिर्जनाशीलतालाई खुला गर्नुपर्दछ देशको सर्वोपरी हितहरुका लागि कार्य गर्ने गौरवमय परम्परालाई अगाडि बढाउनु पर्दछ । र, राजनीतिक स्थिरता र एकता कायम गर्न र चिनियाँ शक्ति निर्माण गर्ने मुख्य शक्तिका रुपमा विकास गर्नु पर्दछ । तेश्रो, श्रमको सदा सम्मान गर्नु पर्दछ र जजसले श्रम गर्दछन् । उनीहरुले सुख मनाउन पाउने स्थिति बनाउनु पर्दछ । कठिन श्रमको माध्यबाट पूरा गर्न नसकिने कुरा छैन । श्रम नै अति आदरणीय, अति उत्कृष्ट र अति सन्दर बस्तु हो । हामीले सबै जनहरुमा श्रमप्रतिको उत्साह प्रेरित गर्नु पर्दछ । हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ । हाम्रो देशको उज्ज्वल भविष्य छ, तर त्यहाँ पुग्न सजिलो छैन । हामीले एकल प्रयासबाट मात्र लक्ष्य हासिल गन सक्तैनौँ, न एकै रातमा हामी हाम्रो सपना साकार पार्न सक्छौँ । संसारका सबै उपलब्धी कठिनाइका साथ प्राप्त भएका हुन् । जति बढी सुन्दर भविष्य हुन्छ । उति नै जटिलापूर्वक हामीले काम गर्नु पर्दछ ।
सार्वजनिक कोषलाई जनताको हितमा खर्च गर :सार्वजनिक कोषलाई सधैँ जनताको हितमा खर्च गर्नु पर्दछ । यसो गर्न सकियो भने मात्र हामी हाम्रो आचरणमा इमानदार हुन सक्तछौँ । राज्य शक्तिलाई जनताको हितका लागि सञ्चालन गर्नु पर्दछ र यसलाई व्यक्तिगत हितको साधनको रुपमा प्रयोग गर्नु हुन्न भन्ने कुरालाई पार्टी र सरकारका अधिकारीले ख्याल गर्नु पर्दछ ।
राष्ट्रपति सीको नेपाल भ्रमण जुन हिसाबले ऐतिहासिक बनेको छ । भ्रमण अवसरमा दुई देशबीच भएका समदारी सम्झौताको आगामी दिनमा प्रभावकारी कार्यान्वयन हुनसके नेपाल चीनबीचको सम्बन्धले झन नयाँ उचाइ लिने छ । राष्ट्रपतिको भ्रमण केबल दुई देशबीचको सहमति सम्झौतामा मात्र होइन, पार्टी सञ्चालन र राज्य सञ्चालनका लागि राष्ट्रपतिले अगाडि सार्नु भएका विचार पनि शाश्वत छन् र नेपालको सन्दर्भमा खास गरी नेपालका वामपन्थीले पार्टी सञ्चालनक्रममा सीका विचारलाई अनुशरण गर्न जरुरी छ । यस्तै, नेपालमा अब समाजवादी क्रान्ति गरेर समाजवादमा जाने जुन राजनीतिक लक्ष्य दिशाबोध भएको छ, समाजवादी चीन निर्माणका लागि राष्ट्रपति सीले राज्य सञ्चालनका क्रममा व्यक्त गर्नु भएका विचारलाई नेपालको राज्य सञ्चालनक्रममा जनआधारित नीति, कार्यक्रम लागु गर्न, सुशासन कायम गर्न र समृद्धि हासिल गर्न पनि अनुशरण गर्न आवश्यक छ । राम्रा विचारको अनुशरण वा प्रयोग गर्न पछाडि पर्नु हुन्न । यसो गर्दा कोही पनि कतैपट्टि ढल्किएको हुँदैन । यसैगरी चीनले अगाडि सारेको र नेपालले पनि सम्झौता गरिसकेको बिआरआई योजना जो कनेक्टीभिटी, पूर्वाधार निर्माण, विकास र समृद्धिसित सम्बन्धित छ, अब नेपालले गम्भीर ढंगले गृहकार्य गरी बिआरआई योजनामा सामेल हुन सक्दा नेपालको विकास र समृद्धिको ढोका खोल्न सकिनेछ । (खनाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुनुहुन्छ)