पैसा नदिनेको लागि हामीसँग त्यती बेला नागिन पटाखा हुन्थ्यो, यताउती हेरेर नागिन फोड्ने र भाग्ने गर्नु हाम्रो लागि औधी रोमान्चकारी हुने गरेको थियो । हाम्रो लक्ष्य अधिक भन्दा अधिक पहाडी मूलका घरमा पुग्ने हुन्थ्यो । त्यहाँ हामीले अन्य भन्दा पैसा पनि बढी पाउने र सेल रोटी समेत पाउने भएकोले हामी बढी आकर्षित हुन्थ्याैं ।
समय परिवर्तनशील छ । पहिलेको बालापन र अहिलेको जिम्मेवारीसहितको ३० वसन्त यताको जीवनमा निक्कै भिन्नता छ । घर परिवार र कामको जिम्मेवारीको बोझले हामीले बालापनमा बिताएका समय समेत याद गर्न र केहिबेर त्यही यादमा रुमल्लिन अवरोध खडा गरेकै हुन्छ तर पनि ती यस्ता याद हुन्, जो स्मरण गर्न यस्ता साना तिना अवरोधले पनि खासै प्रभाव पार्दैन र हामी केहिबेरको लागि भएपनि आफ्नो बालपनमा पुग्छौं र सम्झिन्छौं ती कहिल्यै भुल्न नसक्ने यादहरु ।
त्यतिबेला देउसी भन्दा पनि हामी ढौसी दे भनेर जोर जोरले चिच्याउथ्याैं । खाँटी तराईमा बसोबास भएको र नेपाली भन्दा पनि आफ्नो मातृभाषामा नै बोल्न सजिलो भएकोले हामीलाई देउसी शब्दलाई ढौउसी भन्न सजिलो थियो । देउसीकै लागि गाउने गीतका कतिपय शब्द यहाँको परिस्थिति र भौगोलिक अवस्थासँग मेल नखाएपनि हामीसँग अन्य कुनै गीत नभएकोले हामीले त्यही गाउँथ्याैं। चिप्लो बाटो, लड्दै पर्दै लगायतका केहि शब्द हामीलाई हसाँउथ्यो र यहाँ कहाँ यस्तो छ र भनेर हामी खुब हाँस्थ्याैं। त्यही गीत याद गर्न हामीले कागजमा कुनै पहाडीमूलका साथीसँग गीत लेखाएर अनि रट्टा मार्ने गरेका थियौं ।
दुई सय देखि पाँच वा सात सय भएपछि पिकनिक मनाउन कति न धेरै पैसा भयो भनेर हामी मख्ख पर्थ्यौंं । दाल, भात, तरकारी, तरुवा अचार, सेवई लगायतका अनेकाैं परिकार बनाउन हाम्रो समूहको निक्कै ठुलो रुचि हुन्थ्यो ।
त्यतिले मात्र नभई त्यो गीत लेखेको कागज समेत बोकेर हिड्थ्यौं । एक दुई पटक हामीसँगै हिंडेका मेरा सहृदयी मित्रहरु आफ्नो समूह छाडेर पहाडी मूलका साथीको समूहतिर लागेको थिए । त्यसलाई पछि हामीले खुब गाली गर्थ्यौं । तिमी पहरिया भयौ भनेर । तर पछि फेरि आफ्नै साथी छ भनि उसको समूह छोडेर जानुको दुःख हामी बिर्सन्थ्यौं ।
देउसीको लागि हामीसँग खासै मादल लगायतका सामग्री थिएनन् र नाच्न पनि कसैले जानेको हुन्थेन तथापी बाल उमंग र देउसीपछि पाएको पैसाले पिकनिक मनाउन पाउने लोभले हामी देउसी खेल्न निस्कन्थ्यौं । नाग्लोमा थोरै चामल र फूल तथा एउटा दिप राखेर हाम्रो यात्रा शुरु हुन्थ्यो । मेरो समूहमा सबै खाँटी मधेस समुदायका युवक भएकोले हामी मध्य कोही पनि देउसीमा पोख्त थिएनौं । तर चिच्याउन भने खप्पीस थियाैं।
जोड जोडले भन मेरा भाइ हो, ढौसी रे, पाँच भाई जम्मा ढौसी रे मज्जाले बोल्थ्याैं । यति बोल्दै गर्दा हामीले सहि बोल्दै छौ वा शब्दहरु गलत छन हामीलाई थाहा थिएन । न सुर थियो न त ताल तर सुर मिलाई भन ढौसी रे। हामी दर्जनौं पटक दोहोर्याउथ्यौं । केहिबेर हामी कराएपछि थोरै चामल र एक रुपैयाँ देखि पाँच, दश, पचास रुपैयाँसम्म हामी पाउथ्यौं । त्यसैले मन गदगद भई अर्को घरतिर लम्किन्थ्याैं । पैसा नदिनेको लागि हामीसँग त्यती बेला नागिन पटाखा हुन्थ्यो, यताउती हेरेर नागिन फोड्ने र भाग्ने गर्नु हाम्रो लागि औधी रोमान्चकारी हुने गरेको थियो । हाम्रो लक्ष्य अधिक भन्दा अधिक पहाडी मूलका घरमा पुग्ने हुन्थ्यो । त्यहाँ हामीले अन्य भन्दा पैसा पनि बढी पाउने र सेल रोटी समेत पाउने भएकोले हामी बढी आकर्षित हुन्थ्याैं ।
दुई सय देखि पाँच वा सात सय भएपछि पिकनिक मनाउन कति न धेरै पैसा भयो भनेर हामी मख्ख पर्थ्यौंं । दाल, भात, तरकारी, तरुवा अचार, सेवई लगायतका अनेकाैं परिकार बनाउन हाम्रो समूहको निक्कै ठुलो रुचि हुन्थ्यो । कुन सामान कति लाग्ने ? पैसा कसले बोक्ने ? कुन ठाउँमा जाने, भाडाकुँडामा कसले आफ्नो घरबाट के ल्याउने लगायतको कुरा हाम्रौ योजनामा हुन्थ्यो । केहि पटक अलि बढी पैसा भएको बेला हामीले मासु समेत पिकनिकमा बनाउने गरेका थियौं ।
भोलिपल्ट हाम्रो पिकनिकले दिदीलाई भने दुःख दिन्थ्यो । घरमा भाइटीका (भरदुतिया) को लागि दिदी बाटो पर्खेर बसेको बेला जहिले पनि हामीलाई आउन एक वा दुई बज्थ्यो त्यति बेलासम्म उहाँलाई भोक्कै बस्नु पर्थ्यो ।
आज दिन फेरिएका छन् भाइटिकाको लागि प्राय दिदीको घर जान सकेको छैन । यदाकदा कुनै वर्ष सबैै अनुकुल भएको बेला पुग्ने समेत गरेको छु । तर आज छोरी बिरामी परेर जान सक्ने अवस्थामा छैन । तर मम्मीसँग भाइटीका ग्रहण गर्न मेरो ठूलो मामा आइपुग्नु भएको छ । आज त्यही हेरेर र छोरा छोरीको भाइटीका हेरेर सन्तुष्ट हुनुको विकल्प छैन । अन्तमा सबैैमा भाइटीकाको शुभकामना ।