झापा। बिर्तामोडमा शनिबारदेखि अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लब र पाहुना टोली सिक्किम आक्रामक आमनेसामने हुँदैछन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेबाट उद्घाटन समारोह शुरु हुनेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक जायोन स्पोर्टस् क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाइजले सहभागिता जनाउने पक्का भएको आयोजक समितिले जनाएको छ ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवाव्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।