बाँके । सुगम जिल्ला भएपनि बाँकेमा स्वास्थ्यकर्मीको अभाव रहेको छ । सबै हिसाबले सुगम मानिने यस जिल्लाका केही दुर्गम तथा पिछडिएका क्षेत्र अहिले पनि अभावसँग सामना गरिरहेका छन् । राप्तीपारि बघौडाको कथा र वेदना भने निकै फरक छ।
वर्षात्मा बाढीको पीडा, हिउँदमा शीतलहरले सास्ती भोग्छन्, राप्तीपारिका बासिन्दा । बल्लतल्ल हुलाकी सडकले जोड्यो, सदरमुकामसँगको दूरी केही नजीक भयो तर, शिक्षा र स्वास्थ्यको अवस्था जस्ताको तस्तै छ । दुई वर्षअघिसम्म भारतीय बजारमै कारोबार गर्ने राप्तीपारि बघौडा क्षेत्रका नागरिकहरु बल्लतल्ल नेपाली बजारसँग जोडिएका छन् । केही वर्ष अघिसम्म त राप्तीपारि नेपाली रुपैयाँसमेत चल्दैनथियो । अहिले गाउँमा नेपाली रुपैयाँमै कारोवार त भएको छ तर नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारी अभावका कारण अहिले पनि नरैनापुरवासी प्रभावकारी स्वास्थ्य उपचारबाट वञ्चित छन् । गाउँपालिकाभित्रकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेको यो केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने योजना स्वीकृत भएर नामकरण समेत भइसकेको छ तर यहाँ सामान्य स्वास्थ्य चौकीले दिने जस्ता सेवा मात्रै उपलब्ध छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र हुँदा १३ जनाको दरबन्दी भएकामा हाल ८ जना स्वास्थ्यकर्मी मात्र रहेका छन् । एमबिबिएस डाक्टरको समेत दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा स्थानीय बासिन्दाले डाक्टरको अनुहार हेर्न पाउँदैनन् । स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको २५ वर्षसम्म भइसक्दा पनि अहिलेसम्म डाक्टर नबसेकाे स्थानीयकाे भनाइ छ ।
स्वास्थ्य केन्द्रमा एक एमबिबिएस डाक्टर, एक एचए/सिअहेब, एक स्टाफ नर्स, तीन अहेब, तीन अनमी, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल एक सिअहेब, एक स्टाफ नर्स, दुई अहेब, तीन अनमी र एक कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज मो. तयव रायनले जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्रका इन्चार्ज एचए मोइन खाँले लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालिरहनु भएको छ । एमबिबिएस डाक्टरको व्यवस्था भएको स्वास्थ्य केन्द्र तल्लो तहका कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य केन्द्रमा अन्य स्वास्थ्यकर्मी पनि कमै बस्ने गरेको नागरिकहरुको गुनासो छ । उपचारका लागि केन्द्रमा जाँदा डाक्टर नभएर फर्किनुपर्ने बाध्यता रहेको लक्ष्मणपुरका स्थानीय बासिन्दाको गुनासो छ । 'अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी नै हुँदैनन्, कर्मचारी भइहाले पनि औषधि नपाएर फर्किनुपर्छ, हामी उपचार गर्न जाने अरु ठाउँ छैनु', लक्ष्मणपुरका स्थानीय कमदिन खाँले भन्नुभयो ।
कोही बिरामी भइहाले पनि उपचार गर्नकै लागि केन्द्रमा स्वास्थ्यकर्मी भेट्टाउन मुश्किल हुने गरेको खाँले बताउनुभयो । 'नेपालगञ्ज लैजान यातायातको सुविधा छैन, गाउँंमै छट्पटाउनु पर्ने अवस्था छ', खाँले गुनासो पोख्दै भन्नुभयो । गाउंँमा बस्ने व्यवस्था राम्रो नभएको बहानामा स्वास्थ्यकर्मीहरु अन्यत्र गइदिँदा नरैनापुरवासी स्वास्थ्य उपचारबाट वञ्चित छन् ।
लामो समयदेखि समायोजन प्रक्रियामा रहेको स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन टुङ्गिसकेको छैन । बाँकेका स्थानीय तहमा पनि स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको कामले पूर्णता पाउन सकेको छैन । जिल्लाका केही स्थानीय तहले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीको पदस्थापना गरी काममा खटाइसकेका छन् भने केही तहमा समायोजन टाउको दुखाइको विषय बनेको छ ।