विद्यानन्द रामसप्तरी । बजारमा बढ्दो माग र कम उत्पादनको अवस्थाअनुसार सप्तरीमा पहिलो पटक व्यावसायिक रुपमा सामुहिक मेवाखेती शुरु गरिएको छ ।
कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा दिपक गुप्ता, पिताम्वर कर्ण र अनिल प्रधानले संयुक्त रुपमा व्यावसायिक मेवाखेती शुरु गरेका हुन् ।
स्वास्थ्यका लागि मेवा अति गुनिलो फल हो । तर, उत्पादनतर्फ किसानहरुको ध्यान पुग्न नसक्दा सप्तरीसहितका बजारमा ८५ प्रतिशतभन्दा बढी मेवा भारतबाटै आयात हुँदै आएको छ । बजारको माग पुरा गर्न सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा दिपक गुप्ता, पिताम्वर कर्ण र अनिल प्रधानले संयुक्त रुपमा व्यावसायिक मेवाखेती शुरु गरेका छन् ।
गुलियो र पोषिलो मानिने मेवाको बोट गाउँघरमा कहीँ–कत्तै देखिए पनि यसको व्यावसायिक खेती हुन नसक्दा बजारको माग पुरा गर्न भारतको भर पर्नुपर्ने बाध्यता हटाउन खेती शुरु गरिएको व्यवसायीहरु बताउँछन् ।
उनीहरुले चार महिनाअघि भारतको कलकत्ताबाट ‘रेडलेडी’ प्रजातिका विरुवा ल्याएर पाँच विघा जग्गा भाडामा लिएर मेवाखेती शुरु गरेका हुन् ।
स्थानीयस्तरमा प्राविधिकको अभाव रहेपनि कुल १९ लाख रुपैयाँको लगानीमा झण्डै चार हजार बोट रोपेर रेखदेख गर्दै आएको उनीहरु बताउँछन् । एउटा बोटमा करिब ५० देखि ६० किलोसम्म फल लाग्ने ताइवानी मेवाको बोटमा अहिले फूल लाग्न शुरु भइसकेकाले तीनदेखि चार महिनासम्ममा खान योग्य भइसक्ने उनीहरुको अनुमान छ ।
उत्पादित मेवा काठमाडौं, पोखरा, धरान, विराटनगर, जनकपुर लगायतका बजारसम्म पठाउने व्यवसायीहरुको योजना रहेको छ । सप्तरीका बजारमा ६० देखि ६५ रुपैयाँ प्रतिकिलोको दरले मेवाको बिक्री वितरण हुँदै आएको छ ।