काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
सोमबार जनता समाचार डटकम मा सातै प्रदेश प्रमुख नियुक्त, एकपक्षीय भन्दै माधव नेपालको असहमति, प्रदेश २ प्रमुखमा यादवको सिफारिस ‘सही समयमा मूल्याङ्कन’, पर्यटन प्रवर्द्धनका लागि गृष्माको ‘सप्तरंग सांगितिक यात्रा २०७६’, महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश र सुकुटे बस दुर्घटनाका घाइते भेट्न देउवा अस्पतालमा लगायतका शीर्षकमा समाचार छापिए ।
राजधानी दैनिकले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्द सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा जन्मकैदसहित तीन वटा मुद्दा दर्ता गरेको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार सरकारी वकिल कार्यालय रौतहटले जन्मकैद माग गर्दै १० जनामाथि जन्मकैदको मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन् ।
आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो । राजधानीमा साढे दुई वर्षमा ८० जना जनप्रतिनिधि पक्राउ र पूर्वसभामुख महरा कारागार चलान शीर्षकमा समेत मुख्य समाचार छापिएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकमा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरिएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले प्रदेश प्रमुखहरुमा अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी, विष्णु प्रसाईं र गोविन्द कलौनीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।