नारायण थापाभक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. (क) का लागि पार्टीले देवीप्रसाद अर्थात् डिपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै मंगलबार कार्यालयमा तालाबन्दी गरिएको हो ।
नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका कार्यकर्ताले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।
टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । टोलीले पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएका थिए ।
तालाबन्दीपछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी हाईकमाण्डले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नु पर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका थिए ।
पार्टीका अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार भई ७८६ मत ल्याएको ढकाललाई उम्मेदवार बनाउँदा पार्टीले जीत सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने माग गर्नुभएको छ ।
पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनबिर श्रेष्ठ, डिपि ढकाल र नारायणी दंगालको नाम सिफारिस गरेको थियो ।