‘बोक्सी भन्दै तातो फलामले डाम्न खोजे, भागेर बाँचे’

विपुल अधिकारी
पाँचथर । याङ्वरक गाउँपालिका–२, फलैंचाकी पूजा भारतीलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सिको आरोप लगाउँदै चरम यातना दिएको खुलेको छ ।
पीडितका अनुसार ससुरा कान्तप्रसादले लामो समयदेखि बोक्सिको आरोपमा शारीरिक तथा मानसिक यातना दिँदै आएका हुन् । गत भदौ ३१ गते राति छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गरी फलाम तताएर डाम्न खोजेपछि पूजाले भागेर ज्यान जाेगाएकाे बताइन् ।
कुटपिटपछि कान्तप्रसादले डाम्नलाई फलाम तताइरहेको र महेन्द्रप्रसादले आफूलाई पक्रिरहेको अवस्थामा फुत्केर ज्यान जोगाउन सफल भएको भारतीको भनाई छ । भारतीले सोही दिन नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएपनि आफूमाथि जघन्य अपराध गर्नेहरु पक्राउ नपरेको गुनासो गरेकी छिन् ।
घटना घटेको लामो समयसम्म पनि पीडकहरु पक्राउ नपरेपछि प्रहरीसँग बुझ्दा जाहेरी बिना कारबाही गर्न नमिल्ने बताइएपछि असोज २७ गते उजुरी दिएको पीडितको भनाई छ । अहिलेसम्म पनि पीडकलाई प्रहरीले पक्रिन सकेको छैन् ।
पाँचथर प्रहरी प्रबक्ता एवं प्रहरी निरिक्षक अनिलकुमार पौडेलले भने आरोपित दुबैजना फरार रहेको र खोजिकार्य जारी रहेको प्रतिक्रिया दिए । पीडित पूजा एक बर्षीया छोरीका साथ हिलिहाङ–२, कुर्लुम्बास्थित माइतघरमा बस्दै आएकी छन् ।