काठमाडौं । ग्लोबल आइएमई बैंकले देशका विभिन्न १० स्थानमा शाखारहित बैंकिङ्ग सेवा थपेको छ । बैंकले बाग्लुङका ताराखोला गाउँपालिका -२ अर्गल, नवलपुर गैडाकोट नगरपालिका -३ ढोडेनी, बैतडीको पुर्चाैडी नगरपालिका -५ कुवाकोट, बाग्लुङ जिल्लाको जैमीनी नगरपालिका -८ अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका -१ बेगखोला, मकवानपुरको बागमती गाउँपालिका -६ फापरबारी र रोल्पाको रोल्पा नगरपालिका -३ सातदोबाटोमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यसैगरी, लुुंग्री गाउँपालिका -३ जुटुङ्ग खोला, गंगादेव गाउँपालिका -१, ओत र परिवर्तन गाउँपालिका -६ को नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको बैंकले जनाएको छ । १० वटै शाखारहित बैंकिङ्ग सेवा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्दजीवि तथा स्थानीयवासीहरुको रोहवरमा सञ्चालनमा ल्याइएका हुन् । थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिद्वारा बैंकिङ्ग सेवा लिनसक्ने बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बताइएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन ग्लोबल आइएमई बैंकले ति स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १४९ वटा शाखा, ३० वटा एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर, १५० एटिएम तथा १९४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयबाट आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथै १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले अष्ट्रलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । ग्लोबल बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्ससमेत भित्र्याउँदै आएको छ ।