भगीरथ भण्डारी इलाम । नेपाल र भारतकाे सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समयदेखि सीमामा समस्या नदेखिएजस्तो भएपनि सानोतिनो समस्या आइ नै रहने गरेकाे छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छरिएर बसिरहेको छ । एसएसबी यतिबेला दशगजा क्षेत्रमा पाल हालेर हतियारसहित बसिरहेको देखिन्छ । नेपालको पर्यटकीय गन्तव्य मानिने सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा पनि एसएसबीले रोक लगाएको छ । भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि तर एसएसबीले आफ्नो भन्दै रोक लगाएको हो ।
पछिल्लो समय सन्दकपुरलगायतका विभिन्न सीमा क्षेत्रमा भारतीय पक्षले पनि संरचना बनाइरहेको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले भने, ‘गाउँपालिकाले निर्माण गर्दै गरेको टावर निर्माणले दशगजा छुँदो रहेछ दुई देशको सम्झौतामा बनाउन सकिने हुँदा पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालसँग तत्काल समाधानका लागि आग्रह गरेका छौं । एकाएक भौतिक संरचना निर्माणमा अवरोध पु¥याएपछि हामीलाई निर्माका काममा बाधा पुगको छ ।’ योपटक नै इलाममा सिमाड्ढनका लागी सर्वे हुने र त्यसैबेला बसेर छलफल गर्ने सोच रहेको बताउँदै राइले सिमानामा संरचना निमार्णमा मात्रै नभई भारतले खाद्यान्नमा पनि रोक लगाएको जानकारी दिनुभयो ।
नेपाली भूभागमा दशगजा छाडेर होटल बनाउन थालेपनि एसएसबीले रोक लगाउने र दुख दिने गरेको स्थानीय बताउँछन् । स्थानीय राजेन्द्र गुरुङ भन्छन, ‘एसएसबीलाई जे मन लाग्यो त्यो गरिरहेको छ । एसएसबीले दशगजामै संरचना बनाउन मिल्ने तर नेपालले आफ्नो जग्गामा पनि बनाउन नपाउने ?’ गुरुङले संरचना मात्र होईन भारतले खाद्यान्न ल्याउन मात्रै नदिने होइन्, आफू नेपाली भूमिमा हतियार बोकेर पस्ने तर नेपालीलाई चामल किन्न पनि नदिने गरेको बताए ।
इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेर हतियार सोझाएर बस्ने गरेको छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटक-पटक रोक लगाउने र दु:ख दिइरहने गरेको स्थानीयको भनाइ छ । मानेभञ्ज्याङमा नेपाल र भारततिरका दशगजा क्षेत्रमा घर बनाइएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन । पशुपतिनगरको फाँटमा भारतीयतर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्फबाट पटक -पटक पहल गरिएको भनिएपनि भारतले संरचना बनाइ छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाट नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखियो तैपनि भारतीय पक्षले संरचना बनाउन रोकेन ।
बारम्बार सीमाक्षेत्रमा भएको विषयमा राजनीतिक संवाद हुने गरेको भएपनि नेपाल र भारतको सिमाना वैज्ञानिकिकरण नगरेसम्म सँधै समस्या भइरहने र यसैका लागि सरकारले काम गरिरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको थियो । खनालले सरकारले काम गरिरहेको बताएपनि अहिलेसम्म कुनै नतिजा आउन सकेको छैन् । पाँचवर्ष अघि पनि इलाममा देखिएकोसिमानाको विवादमा खनालले हामी काम समाधानका लागि भइरहेको बताउनुभएको थियो । तर पाँच वर्षपछि पनि खनालले त्यही कुरा दोहोर्याउदा सिमानामा बसोबास गर्ने जनताले सरकारबाट समाधान हुन्छ भन्ने विश्वास गर्न छाडेका छन् ।
इलामको छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टी पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्फबाट नै पर्ने भन्ने देखाएको भएपनि आधिकारीक र औपचारीक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गाधनी पुर्जा छ । इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७, सहायक स्तम्भ ८३ र साना स्तम्भ ४६ भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ बाँकी रहेको सीमा प्रशासन कार्यालयर्काा शाखा अधिकृत दयाकृष्ण ढकालले जानकारी दिनुभयाे ।
सीमा सुरक्षा ‘मुख्य चुनौति’नेपालको पूर्वी सीमामा भारतसँग जोडिएको सीमाक्षेत्र जिल्लाको प्रमुख सुरक्षा चुनौतिका रुपमा देखिएको छ । नेपाल–भारत सीमास्तम्भहरूको सुरक्षा र त्यहाँ भइरहने गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन् । भारतीय सीमाक्षेत्र पशुपतिनगरमा नयाँ ‘बोर्डर अब्जरभेसन पोस्ट’ (बिओपी) राखियो । सीमाकै मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा नयाँ बिओपी थप्न जिल्लाले माथिल्लो निकायमासमेत प्रस्ताव गरिसकेको छ । पछिल्लोसमय नेपाल–भारत सीमास्तम्भको सुरक्षा र त्यहाँ भइरहने आपराधिक गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन् ।
‘सीमास्तम्भ सुरक्षा र सीमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै (बिओपी) राखिँदैछ । जिल्ला सुरक्षा समितिले ४ स्थानमा ‘बिओपी’ राख्ने प्रस्ताव गरेकोमा एउटा सरकारबाट स्वीकृत भइसकेको छ भने अरू प्रक्रियामा छन् । इलामको ५२ किलोमिटर भारतसँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ‘बिओपी’ राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राख्ने गरेको छ । नेपालतर्फ भने सीमाभन्दा निकै टाढा असईको नेतृत्वमा ६/७ जना रहेको प्रहरी चौकीबाहेक कुनै सुरक्षा संयन्त्र छैन् । ‘
पूर्वीसीमामा हरेक १३ किलोमिटरको दुरीमा सशस्त्र प्रहरीको ‘बिओपी’ राख्ने सरकारको योजना छ । दशगजाभन्दा बढीमा ५ सय मिटर नजिक ‘बिओपी’ राखिने भनिएपनि अहिलेसम्म काम भएको छैन । सरकारको निर्णयअनुसार पशुपतिनगरमा ‘बिओपी’ स्थापना भयो । त्यसपछि क्रमशः मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा बिओपी राखिने भनिएपनि अहिलेसम्म कामभएको देखिँदैन । सीमा सुरक्षा र त्यहाँ हुने गरेका सबैखाले अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल विस्तार गर्नुपर्ने आवश्यकता छ ।
पाँच वर्ष अघि नापी विभागबाट आएको टोलीले स्थलगत अध्ययन र जाँच गरी भारतले केही स्थानमा दशगजा क्षेत्र मिचेर संरचना बनाएको पत्ता लगाएको थियो । दशगजामा सीमास्तम्भको दुवैतिर ३०–३० फिटको भूभागमध्ये भारततर्फको भागमा संरचना बनेको टोलीको भनाइ थियो । पशुपतिनगर नजिकैको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको टोलीले निष्कर्ष थियो । भारतले ७१/६, ७१/७ र ७१/८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको पाइएपनि गुम्बा निर्माणको काम रोकिएन । केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभञ्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको देखाएको थियो । भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।