काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक – फरक शीर्षकका समाचारले प्राथमिकता पाएका छन् ।
बुधबार जनता समाचार डटकम मा प्रविधिमैत्री मनाङ बनाउने सांसद पोलदेनको योजना, खण्डहर बल्खुमा मदन भण्डारीको एक्लो सालिक (भिडियोसहित), ‘१२ सत्ताईस’को ट्रेलर सार्वजनिक, ४० औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री पेरिसमा, लोकसेवाले माग्यो २६१ कर्मचारी (सूचनासहित), बालविवाहको आरोपमा एक जना पक्राउ र बल र वीरेन्द्रको ‘किन बस्यौ यी आँखामा’ म्युजिक भिडियो सार्वजनिक लगायतका समाचार प्रकाशन गरिए ।
नागरिक दैनिकले स्थानीय तहको उपनिर्वाचनका बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको खबरलाई प्रमुख समाचार बनाएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उम्मेदवारहरुले उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् ।
समाचार अनुसार स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत गरी ४८ पदका लागि उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, राप्रपा संयुक्त, राप्रपा र स्वतन्त्र गरी २८१ जनाको उम्मेदवारी परेको हो । जसमा २१७ दलका उम्मेदवार छन् भने ६४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
पत्रिकामा उल्लेख भए अनुसार महोत्तरीमा गाउँपालिकाको एक अध्यक्ष र तीन वडाअध्यक्ष पदको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडाध्यक्ष पदका लागि नेकपा र नेपाली कांग्रेससहित स्वतन्त्र उम्मेदवारहरुलेसमेत मनोनयन दर्ता गरेका छन् ।
धरानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार प्रमुख पदका लागि २३ जनाले उम्मेदवारी दिएका छन् भने वडाअध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी मोरङको धनपालथान गाँउपालिकाको वडा नम्बर २ को रिक्त रहेको वडाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा रिक्त रहेको वडाध्यक्षका नेकपा र नेपाली कांग्रेस पार्टीको उम्मेदवारी परेको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर २, एक स्वतन्त्रसहित पाँच दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरि, सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।