नेमकिपा दैलेखले गर्यो भारतविरुद्ध चर्को नाराबाजी

नारायण थापा
भक्तपुर । नेपाली भूमि आफ्नो सीमाभित्र राखी भारतले नक्सा तयार गरेपछि पश्चिम नेपालको विकट पहाडी जिल्लाहरूमा सीमा अतिक्रमणविरोधी प्रदर्शन भइरहेको छ । प्रदर्शनमा गाउँ गाउँका स्थानीय सहभागी छन् ।
यसैबीच नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समिति जिल्लाको सदरमुकाममा भारतीय विस्तारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनको आयोजना गरेको छ । लिम्पियाधुरा हाम्रै हो, कालापानी हाम्रै हो, सुस्ता पनि हाम्रै हो, देशभक्त जनता एक होऔं जस्ता विभिन्न नाराका साथ जुलुसले नगर परिक्रमा गरेको थियो ।
जुलुस प्रदर्शनपछि देवकोटा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेमकिपा, कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनताले सङ्घर्षका गतिविधिलाई अझ तीव्र पार्ने बेला आएको बताउनुभयो । ‘भारतीय विस्तारविरोधी आन्दोलनलाई गाउँगाउँमा पु¥याउन पर्ने भन्दै सत्तास्वार्थको कारण शासक वर्ग भारतीय अत्याचारलाई अन्तर्राष्ट्रियकरण गर्न रोक्दैछन्’ उहाँले भन्नुभयो ।
उहाँले सुस्तामाथि भारती हस्तक्षेप हुँदा नेमकिपाले २०२५ सालमा प्रदर्शन गर्दा प्रहरी दमनको सामना गर्नुपरेको भन्दै नेमकिपाले विस्तारवादविरुद्ध निरन्तर सङ्घर्ष गरिआएको बताउनुभयो । उहाँले सानो देशले पनि ठूला देशलाई झुकाएको भन्दै नेपालले भारतीय विस्तारवादविरुद्ध लड्न खुट्टा कमाउन नहुने बिचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले सत्ताशीन पार्टीले भारतीय हस्ताक्षेपविरुद्ध बोल्ने साहस नगरेको भन्दै नेपाल–भारत बीचको खुला सीमा बन्द हुनुपर्ने घारणा राख्नुभयो ।