काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रपत्रिकाहरुले नख्खु जेलमा आलम, भारतको बलमिच्याइँ, प्रधानमन्त्रीको तेस्रो डायलासिस, अख्तियारको अकुतमा तानिँदै राजस्व र सडकका अधिकारी, दुर्घटना होइन धरापलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिका दैनिक लेख्छ, आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा हाल्ने आफताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी ब्लकमा राखिएको छ । यो ब्लकमा लागूऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पु¥याइएको थियो ।
नयाँपत्रिकाकै अनुसार अदालतबाट जेल हिड्नुअघि रौतहटका एसपी भुपेन्द्र खत्रीलाई आलमले भने–‘नयाँ पत्रिकाले जे–जे भन्यो, तपाईंहरुले त्यही–त्यही मान्नुभयो ।’ एसपी खत्रीको जवाफ थियो– ‘मिडियाले आफ्नो सूचनाका आधारमा लेख्छ, हामीले आफ्नो अनुसन्धानका आधारमा मुद्धा चलाएका हौँ ।’
नागरिक दैनिक लेख्छ, भारतको दुधुवा नेसनल पार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि पुनर्वास नगरपालिका–९ बीचफाँटाका किसानले सीमाक्षेत्रमा काँडेतार लगाउने योजना बनाए । स्थानीयको बालीनाली जोगिने भएकाले सो योजनालाई सम्बन्धित नगरपालिका तथा वडाले पनि सधाए । सीमावारि नेपाली भूमिमा २०७४ वैशाखमा लगाइएको तारबार भारतीय एसएसबी आएर उखेलिदियो । त्यसैगरी २०७५ माघ १० गते धनगढी नजिकै डोकेबजार सीमा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा ट्रेन्च खनेर तारबार गर्न थाल्यो । नेपालीले विरोध जनाएपछि ट्रेन्च हाल्ने काम केही दिन स्थगित गरियो तर पछि भारतले पुनः निर्माण थाल्यो ।
अन्नपूर्ण पोस्ट् लेख्छ, प्रधानमन्त्री केपी ओलीको मृगौलाको कार्यक्षमतामा हा्रास आएपछि पुनः हेमोडायलासिस गरिएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा शनिबार उहाँको तेस्रो पटक डायलासिस गरिएको हो । कात्तिक १२ र १३ गते सोही अस्पतालमा ओलीको दुई पटक डायलासिस गरिएको थियो ।
राजधानी दैनिक लेख्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवम् डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्ति छानबिन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका झण्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । ती अधिकारीको तीनपुस्ते विवरणबारेपनि छानबिन भइरहेको छ । अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयहरुमा वर्षौँदेखि कार्यरत केही अधिकारी, सडक विभाग र डिभिजन अन्तर्गत कार्यरत केही उच्च इन्जिनियरमाथिको अकुत सम्पत्ति छानबिन अन्तिम चरणमा पुगेको छ ।
कान्तिपुर दैनिक लेख्छ, मुलुकमा पछिल्लो दश वर्षमा भएका दुर्घटनामा २० हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा भएका १ लाख ७ सय सवारी दुर्घटनामा १ लाख २४ हजार १ सय ८१ जना घाइते भएका छन् । यसमध्ये गम्भीर घाइते हुनेको संख्या नै ४१ हजार ३ सय ५७ छ । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको प्रहरीको भनाइ छ ।