रुपक कुलालकाठमाडौं । सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सरकारी सुरक्षा संयन्त्र सशस्त्र प्रहरी बलले सरकारले पठाए सीमा सुरक्षामा जान तयार रहेको बताएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि पारिएपछि नेपाल र भारतबिच सीमा विवाद चलिरहेका बेला सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले यस्तो बताउनुभएको हो ।
जनतासमाचार डटकमसँग कुरा गर्दै श्रेष्ठले सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि आइपर्ने हरेक चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बल तयार रहेको प्रष्ट पार्नुभयो । ‘सरकारले जनशक्ति, साधन र स्रोतको व्यवस्था गरे नेपाली भूमिको रक्षा गर्न सशस्त्र प्रहरी बल तयार छ’ श्रेष्ठले भन्नुभयो ।
भारतले जारी गरेको नयाँ नक्सामा दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र परेपछि नेपालमा जनआक्रोस बढेको छ । सीमामा बढेको भारतीय हस्तक्षेपको चौतर्फी विरोध भइरहेको छ । नेपाली जनताले सीमा सुरक्षाका लागि जिम्मेवार निकाय नेपाली सेना र सशस्त्र प्रहरी बलप्रति लक्षित गरेर प्रश्न उठाइरहेको बेला सशस्त्र प्रहरी बलले आफ्नो दृष्टिकोण यसरी सार्वजनिक गरेको हो । पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान तयार रहेको सशस्त्रले स्पष्ट पारेको छ ।
सशस्त्र प्रहरी ऐन ०५८ ले सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ । सशस्त्रले भारतीय सीमामा १ सय ७ बोर्डर आउटपोष्ट खडा गरेको छ । प्रत्येक बोर्डर आउट पोष्टमा ३५ जना सशस्त्र प्रहरी जनशक्ति रहने व्यवस्था छ । उत्तरी सीमामा भने भौगोलिक बनावट र प्रतिकूल मौसम चुनौती बन्ने गरेको छ । तर पनि उत्तरी सीमाको ४ स्थानमा बोर्डर आउट पोष्ट स्थापना गर्ने काम भैरहेकोछ ।
सरकारले जनशक्ति, साधन र स्रोतको व्यवस्था गरेर सशस्त्र प्रहरी बललाई स्पष्ट म्यान्डेटसहित सीमामा खटाए नेपाली भूमितर्फ छिमेकीको हस्तक्षेप रोकिने प्रवक्ता श्रेष्ठले प्रष्ट पार्नुभयो ।
https://youtu.be/VHXMMsKYkN8?t=2