नारायण थापा भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो पार्टीको कमजोरी र गल्तीका विरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउनुभएको छ ।
आगामी १४ गते भक्तपुर क्षेत्र नम्बर-१ प्रदेश नम्बर १ (क) मा हुने प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालको लागि भोट माग्न बुधबार नगरकोटमा आयोजना गरेको घरदैलो कार्यक्रममा शर्माले आफ्नो पार्टीको कमजोरी र गल्तीका विरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउनुभएको हो ।
नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध गरेर नै तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी नेकपाले ठेकेदारसँग लिखित सम्झौता गरी काम शुरु गरेको उहाँले बताउनुभयो ।
हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले शुरु गरिसकेको बताउँदै नेपालको एक इन्च भूमि पनि छाेड्दैनौ, अतिक्रमणमा परेको भूमि नेकपाले मात्रै फर्काउन सक्ने उहाँको भनाइ छ । उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उहाँले यहाँको विकास चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान सरकारले तेलकोटबाट नगरकोट जाने वैकल्पिक सडक निर्माण एवं कालोपत्र गरी स्वर्गीय हरिशरण मार्ग नामाकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण गर्न लागेको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण गर्न लागेको, हरिगुरु पार्क निर्माण गरिने भएको चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभयो ।
उहाँले संसदको पछाडि सिटमा बसेर सरकारको विरोध मात्रै गर्नका लागि अरुलाई निर्वाचित गराउनुको अर्थ नभएको बताउँदै सरकारमा जाने व्यक्तिलाई मतदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगर प्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष वचन देउजा, नेता राजेन्द्र राजथला लगायतले विकास गर्न सक्ने उम्मेद्वार नेकपामा मात्रै रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० जना र कांग्रेसका १० जना गरी ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराउनुभएको नेकपा अध्यक्ष देउजाले जानकारी दिनुभयो ।