प्रमोद कुमार साह जनकपुरधाम । जनकपुरधाममा रामजानकी विवाह महोत्सव (विवाह पञ्चमी) को तयारी तीव्र पारिएको छ ।
विवाह पञ्चमीलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णबले जनाउनुभएको छ ।
भारतको सर्वोच्च अदालतले अयोध्यास्थित रामलिला स्थलमा राम मन्दिरको लागि जग्गा उपलब्ध गराउने निर्णयपछि यसपालि विवाह पञ्चमी महामहोत्सवको रुपमा मनाउन व्यापकरुपमा तयारी गरिएकाे हाे । प्रत्येक पाँच–पाँच वर्षमा भारतको अयोध्याबाट साधुसन्तहरु जन्तीका रुपमा आउने गर्छन् । यो पटकको विवाह पञ्चमी अन्य वर्षभन्दा विशेष हुने उत्तराधिकारी महन्थ दासले बताउनुभयो ।
जानकी मन्दिर र ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा विशेष प्रकारको मञ्च बनाई महोत्सवलाई अझ प्रभावकारिताका साथ अगाडि बढाउन लागिएको जानकी मन्दिर मूल आयोजक समितिले जनाएको छ।
सात दिवसीय कार्यक्रम तालिका त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकले सीता स्वयंवरको आयोजना गर्दा देशविदेशबाट राजा, राजकुमार र हजारौँ जनता सामेल भएको पौराणिक मान्यताले विवाहपञ्चमी मनाइन्छ । मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ ।
सातदिने कार्यक्रममा विवाह पञ्चमी महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, दोस्रो दिन ११ गते बुधबार फूलबारी लीला विवाह मण्डपको फूलबारीमा, तेस्रो दिन १२ गते बिहीबार धनुषयज्ञ रंगभूमि, चौथो दिन १३ गते शुक्रबार तिलकोत्सव जानकी मन्दिर प्राङ्गण, पाँचौँ दिन १४ गते शनिबार मटकोर गंगा सागरपोखरी घाट, छैठौँ दिन १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र सातौँ दिन १६ गते सोमबार राम कलेवा जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्यावाट आएका जन्तीलाई विदा गरी विवाह पञ्चमी समापन हुनेछ ।