काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।
बिहीबार जनता समाचार डट कम मा मुख्य प्राथमिकता आधुनिक कृषि प्रणालीको विकास, राजपा संयोजकमा पुनः महतो, अर्थतन्त्रका सूचक सकारात्मकः मुद्रा भण्डारण १० खर्ब ८७ अर्ब, ६।४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई कम्प्यूटर प्रदान, ‘कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्छु’ र ‘उपत्यकामा अर्ग्यानिक खेती गर्नेलाई सहयोग हुन्छ’ लगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
राजधानी दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिक समाचार बनाएको छ । प्रधानमन्त्रीले अबदेखि हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुपर्ने र कसैले लोभ गरेर तलमाथि गरे कारबाही हुने प्रष्ट पार्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पुनर्गठित मन्त्रिपरिषद्का सदस्य तथा सचिवलाई संयुक्त रुपमा निर्देशन दिनुहुँदै प्रधामन्त्रीले पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले छरिने भ्रमसँग नडराउन समेत सचेत गराउनुभयो । प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफू मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न समेत निर्देशन दिनुभएको छ ।
गोरखापत्र दैनिकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारका सकारात्मक कामकारबाहीलाई बेवास्ता गर्दै आरोप -प्रत्यारोपमा उत्रिएको बताउनुभएको समाचारले प्राथमिकता पाएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै बाँस्कोटाले इतिहासमा पहिलोपटक नेपाली जनताले फैसला गरेको त्यो राजनीतिक सत्ता नेकपाको नेतृत्वमा आएको र आफ्नो जवानी सम्झेर धुरुधुरु रुनुपर्ने जस्तो अवस्था आएकाले कांग्रेसले आरोपको खेती गरिरहेको बताउनुभएको हो ।
तर आजको अन्नपूर्ण पोष्ट् दैनिकले भने मन्त्री हेरफेरको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै असन्तुष्टि देखिएको उल्लेख गर्दै प्रमुख समाचार बनाएको छ । निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले यस्तो संकेत गरेको पत्रिकामा लेखिएको छ । अन्नपूर्णले भिसामा हेपियो नेपाल शीर्षकमासमेत प्रमुख समाचार बनाएको छ ।