काठमाडौं । तात्कालिन शसस्त्र द्वन्द्व पीडितहरुले लामो समय भइसक्दा पनि दोषिलाई कारबाही गरी लुटिएको सम्पत्ति फिर्ता गर्न चासो नदेखाएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश व्यक्त गरेका छन् ।
द्वन्द्व पीडित साझा चौतारीले विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा भएको अवसरमा बिहीबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्व प्रभावितहरुले राजनीतिक दलका नेताले सत्तामा पुगेपछि आफूहरुको समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोश पोखेका हुन्।
सत्तारुढ दल नेकपाका अध्यक्ष दाहालसँगै नेता माधवकुमार नेपाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई मञ्चमा राखेर नेताहरुले शान्ति सम्झौताको अक्षरश कार्यान्वयन नगरेकोमा उनीहरुले आक्रोश पोखेका थिए ।
द्वन्द्व पीडित कल्याण बुढाथोकीले तात्कालिन अवस्थामा विभिन्न मानवअधिकार सम्बन्धी सन्धिहरुको उलंघन गरेका सहयात्रीलाई कारबाही गर्न अध्यक्ष दाहाल डराएको आरोप लगाउनुभयो ।
कार्यक्रमा अर्का पीडित हिमबहादुर बस्नेतले द्वन्द्वकालिन समयमा लुटेको सम्पत्ति फिर्ता गर्न आग्रह गर्नुभयो । शान्ति सम्झौतापछि पनि तात्कालिन समयमा सरकार र द्वन्द्वरत दुवै पक्षबाट पीडित भएकाको जनजीवीका सामान्य बन्न नसकेको भन्दै तत्काल लुटिएको सम्पत्ति फिर्ता गरी सामान्य जनजीविकाको अवस्था निर्माण गर्न बस्नेतले आग्रह गर्नुभयो ।
त्यसैगरी द्वन्द्वमा पति गुमाएकी सीता ओलीले द्वन्द्व पीडितले १३ वर्ष पुगिसक्दा पनि न्याय पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले न्याय निरुपण गर्न सक्षम व्यक्तिलाई मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगमा नियुक्त गर्न पनि आग्रह गर्नुभयो ।
पीडितका कुरा सुनेपछि अध्यक्ष दाहालले द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आममाफी दिन नसकिने प्रतिवद्वता जनाउनुभएको थियो ।