विद्यानन्द रामसप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटी यतिवेला चुनावमय बनेको छ । मंसिर १४ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुले जनता रिझाउन नानाथरी आश्वासन बाढिहेका छन् । तर आधारभुत सेवाबाट समेत वञ्चित रहेका दलित मुसहर समुदायलाई भने उम्मेदवारहरुको आश्वासनले फरक पारेको छैन् ।
२०७४ सालको निर्वाचनमा पनि उम्मेदवारहरुले मुसहर बस्तीका बेरोजगारलाई रोजगारी, पक्की घर, स्वच्छ खानेपानी, घर–घरमा विद्युत पुर्याउने लगायतका नानाथरी आश्वासन दिएर भोट बटुले । तर निर्वाचित भएपछि दलित समुदायको समस्यातर्फ भने कसैको ध्यान पुगेन । जसका कारणले छिन्नमस्ता गाउँपालिका–७ का १ सय ४४ मुसहर परिवारले अझैसम्म विद्युत प्रयोग गर्न सकेको छैन ।
चुनावको बेला बाचा गरेर भोट बटुल्ने र पछि दलितलाई फरक किसिमले हेर्ने जनप्रतिनिधिहरुमा देखिएको प्रवृतिले झण्डै ५ सय व्यक्तिलाई अँध्यारोमै बस्ने बाध्यता परेको उनीहरुले गुनासो गरेका छन् । घरमाथिबाटै विद्युतीय तार तानिए पनि १ सय ५० परिवारमध्ये ६ परिवारले मात्रै मिटर जडान गर्न सकेको तथा बाँकी परिवारले अँध्यारोमै बस्ने बाध्यता खेप्दै आएको उनीहरुको दुखेसो छ ।
दैनिक जसो ज्याला मजदुरी गरेर जीविको चलाउँदै आएका सप्तरीको दलित समुदायका लागि निशुल्क विद्युत मिटर वितरण नभएको पनि होइन् । तर निमित्त वडाध्यक्षले आफ्नो पार्टीलाई भोट नदिएको भन्दै सिफारिश नदिएका कारण त्यो मिटर पनि पाउन नसकेको उनीहरु बताउँछन् ।
जनप्रतिनिधिहरुको यस्तै वेवास्तका कारण यस पटकको चुनावमा भोट हाल्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको मुसहर समुदायले दुखेसो गरेका छन् । वडामा छ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी ७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएर प्रचार प्रसारमा जुटेका छन्।
वडामा ६ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एकहजार चारसय तीनजना मतदाता रहेका छन् । २०७४ सालको निर्वाचनमा राजपाबाट निर्वाचित वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा आएपछि वडाध्यक्षको पद रिक्त हुन पुगेको थियो।