नारायण थापाभक्तपुर । इनरह्वील क्लब अफ भक्तपुर तथा सुर्यविनायक नगरपालिका–५ को संयुक्त आयोजनामा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
कटुन्जे स्वास्थ्य चौकीको प्राङ्गगनमा आयोजित शिविरमा एक सयजना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन् । पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फे नेतृत्वको टोलीले स्वास्थ्य जाँच, पाठेघर, ब्लड प्रेसर, जाँच लगायतका सेवाहरु प्रदान गरेको थियो ।
टोलीमा गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनीकका डा. बिना श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
बिरामीलाई आवश्यकता अनुसार गणेशमानसिंह मेमोरियल अस्पतालका डा. अनुप शाक्यले निशुल्क भिडीयो सेवा उपलब्ध गराउनुभयो ।भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिला दिदी बहिनीको प्यास स्मेर जाँच र कटुन्जे हेल्थपोष्टको सहयोगमा निशुल्क ब्लड सुगर जाँच उपलब्ध गराईएको थियो ।
शिविरमा चक्रवर्ती हवी एजुकेशन एकेडेमीका बिएस्सी तेस्रो वर्षका विद्यार्थीहरु स्वयंसेवकको रुपमा परिचालित थिए । ईनरह्वील क्लब अफ भक्तपुरको तर्फबाट अध्यक्ष रिना ताम्राकारले कटुन्जे स्वास्थ्य चौकीका लागि ल्याबका विभिन्न उपकरण समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशी, स्वास्थ्य चौकी प्रमुख कृष्ण अधिकारी, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयंसेवीका, विभिन्न क्लबका सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । शिविरमा ओम फर्मा स्युटिकल ल्याबोरेटरी र गणेशमान सिंह मेमोरियल अस्पतालले निशुल्क औषधि समेत वितरण गरेका थिए ।
कार्यक्रममा सहयोगी डाक्टर तथा संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।