विमल खड्का बागलुङ । बडिगाड–७ स्थित भीमगिठे माविमा शिक्षक नियुक्तिको विषयलाई लिएर प्रधानाध्यापकको राजीनामासम्म पुगेको विवाद झन् चर्किएको छ ।
नयाँ प्रअको नियुक्ति प्रक्रिया चल्दै गर्दा राजीनामा दिइसकेका प्रअ सागर खरेलले फेरी सोही पदमा कायम हुन खोजेपछि विवाद भएको हो ।
खरेलले असोज ११ गते बुझाएको राजीनामापत्र विद्यालय व्यवस्थापन समितिले २५ गते नै स्वीकृत गरिसकेको छ ।
२०५८ मंसिरदेखि प्रअको जिम्मेवारीमा रहेका खरेलले शिक्षक नियुक्तिमा चित्त नबुझेपछि आफूखुसी राजीनामा दिएका हुन् । तर उनले अहिले आफ्नो पद कायम रहेको दाबी गर्दै प्रशासनिक काममा हस्तक्षेप गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षेत्रीले आरोप लगाए ।
साउन २६ गते निमावि तृतीय श्रेणी, सामाजिक शिक्षाका दरबन्दी शिक्षक कपिलराज रेग्मी सरुवा भएका थिए । समिति बैठकले भदौ पहिलो साता जापान भ्रमणमा रहेका प्रअ खरेलको सहमतिमै नयाँ शिक्षक नियुक्ति गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुसार घरपायकका हिसाबले गलकोट–१० स्थित पाण्डवखानी माविमा कार्यरत समान तह, श्रेणी र विषयका स्थायी शिक्षक काशीराम विकले सरुवाका लागि भीमगिठेमा निवेदन दिए । उनी आउने कुरालाई विद्यालयकै एक पक्षले रुचाएन ।
पहिले सहमति जनाएका खरेल पनि विकलाई ल्याउन तयार भएनन् । समिति अध्यक्ष क्षेत्रीका अनुसार उनले विकलाई ल्याउने भए राजीनामा दिने बताउन थाले ।
समितिको बैठकमा पनि खरेलले विकको नैतिक आचरण ठीक नभएको भनी जातीय कुरा निकाल्दै प्रतिशोधको भावना देखाउने गरेको पदाधिकारी दीपक रायमाझीले बताए । ‘काशीरामको नैतिक आचरण ठिक छैन भनेर लिखित गर्नुस् भन्दा खरेलले राजीनामा दिनुभयो’, उनले भने ।
खरेलले भने विद्यालयको प्रगतिका लागि राजीखुसीले राजीनामा दिएको बताए । उनी अझै पनि प्रअकै कुर्सीमा बसेर काम गरिरहेका छन् । विक नआउने भएपछि उनी पुनः पद कायम गराउन लागिपरेको स्रोतको दाबी छ । राजीनामा स्वीकृत भइसकेकाले उनलाई दोहोर्याउन विद्यालय व्यवस्थापन समिति र गाउँपालिका राजी छैनन् ।
विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरिसकेको खरेलको राजीनामा गाउँपालिकाले समेत सदर गरिसकेको छ । गाउँपालिकाले नयाँ प्रअ नियुक्तिका लागि नाम सिफारिस गर्न पत्रसमेत काटिसक्यो ।
यस विषयमा अभिभावकसमेत दुई खेमामा विभाजित भएका छन् । एक पक्षले खरेलको राजीनामा विव्यसले फिर्ता लिनुपर्ने नत्र पदाधिकारीले राजीनामा दिनुपर्ने माग गरेका छन् । अर्को पक्षले आफूखुसी राजीनामा दिएकाले नयाँ प्रअ नियुक्ति हुनुपर्ने बताएका छन् ।
कांग्रेस निकट शिक्षक संघका गण्डकी प्रदेश सचिवसमेत रहेका खरेल र नेकपानिकट रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारीबीच लामो समयदेखि जुहारी चलिरहेको छ ।