काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।
बुधबार जनता समाचार डट कम मा बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, समाजवाद शिरोमणि घनश्याम भूसाललाई पत्र, काठमाडौंमा भूकम्पको ठूलो धक्का, लिम्पियाधुराबारे यथार्थ प्रमाण जुटाउँदैछौं : मन्त्री अर्याल, देउवाले झुट बोलिरहे कांग्रेस भन्ने पार्टी नै रहन्न प्रचण्ड, पशुपतिमा विद्युतीय सवारी साधन हस्तान्तरण, ‘विप्लव’ समूहका भोजपुर सेक्रेटरी कारागार चलान, पाक्नै नपाई झर्न थाले सुन्तला र जनकपुरमा साग खेलको तयारी पूरालगायतका शीर्षकमा समाचार तथा लेख प्रकाशन गरिए ।
गोरखापत्र दैनिकमा ‘पारवहन सन्धिमा अब जलमार्ग’ शीर्षकमा प्रमुख समाचार प्रकाशित छ । नेपालले आफ्नै ध्वजावाहक पानिजहाज चलाउने विषयमा प्राविधिक रुपमा सहमति जुटेको हो । राजधानीमा बुधबार सम्पन्न नेपाल - भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’ मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने सहमति जुटाएको हो ।
समाचारमा उल्लेख भए अनुसार यस्तो सहमतिपछि जलमार्ग सञ्चालन गर्ने सरकारको योजनाले पारवहन सन्धिको मस्यौदामा औपचारिक रुपमा प्रवेश पाएको छ । सहमतिमा नेपाली टोलीको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय टोलीको नेतृत्व गर्नुभएका भारतीय वाणिज्य मन्त्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाले हस्ताक्षर गर्नुभएको छ ।
आजको अन्नपूर्ण पोष्ट् दैनिकले सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको सम्बन्धि प्रमुख समाचार छापेको छ । केही महिना अघिमात्रै नेतृत्व पाएको नेकपाको संगठन विभागले संगठनात्मक योजनाबनाइरहेको समाचारमा लेखिएको छ ।
अन्नपूणर्ले दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको लेखेको छ । विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको बताइएको छ ।
राजधानी दैनिकमा पञ्चायतमा झैं कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार शीर्षकमा मुख्य समाचार बनाइएकोे छ । समाचारमा उल्लेख भए अनुसार सरकारले पञ्चायतकालको झल्को दिने गरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा अनुसन्धानका कर्मचारीलाई नियन्त्रणमा राख्ने ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि विधेयक’ तयार पारिएको हो ।
पत्रिकामा प्रधानमन्त्री कार्यालयका सहसचिवलाई यस्ता मुद्दामा प्रहरीलाई भएसरहको अधिकार दिइयो भने दुरुपयोग हुने खतरा रहने संविधानविद् भीमार्जुन आचार्यको भनाई समेत छापिएको छ । राजधानीले बैंकबाटै पैसा चोरी भएको अर्को समाचारलाई पनि मुख्य समाचार बनाएको छ ।