काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रत्रिकाहरुले विभिन्न फरक - फरक विषयमा मुख्य समाचार सम्प्रेषण गरेका छन् । कान्तिपुर दैनिकले सरकारका सबै मन्त्रालयको कार्यसम्पादनका ४ महिनाको विश्लेषण गर्दै सबै मन्त्रालयका काम अपुरै रहेकोबारे प्रमुख समाचार बनाएको छ भने गोरखापत्र दैनिकले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवाद समाधानका लागि प्रमाण जुटाउने बताउनुभएको विषयलाई प्राथमिकतामा राखेको छ ।
बिहीबार जनता समाचार डट कम मा ससुरालीमा भगवान रामचन्द्रका जन्तीलाई भव्य स्वागत, प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीको हातमा, ‘द सुल्तान अफ स्ट्रीङ अनिल शाही’ लाइभ कन्सर्ट हुँदै, ‘साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुँदैन’, विद्यार्थीको माग पुरा, पठनपाठन सहज बनाउन कलेजको आग्रह, ऋणको जोहो गर्दै विदेशीने युवालाई थानेश्वरको चुनौति र काठमाडौंमा भूकम्पको ठूलो धक्कालगायतका समाचार प्रकाशित गरिएका थिए ।
गोरखापत्र दैनिकले सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतसँगको सीमा विवादबारे प्रमाण जुटाउने बताउनुभएको विषयलाई प्रमुख समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार सरकारका प्रवत्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सीमा विवाद समाधानका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायतका क्षेत्रबाट समेत सरकारले तथ्य, तथ्याङ्क र प्रमाणहरु संकलन गर्ने प्रष्ट पार्नुभएको छ ।
बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले ऐतिहासिक दस्तावेजहरूको खोजबिन हुनु जरुरी रहेको चर्चा गर्दै तथ्य र प्रमाणका आधारमा स्थापित हुने अधिकारलाई भारतीय पक्षले पनि नेपालको सार्वभौमसत्ताका रुपमा सम्मान तथा स्वीकार गर्नुपर्ने स्पष्ट पार्नुभएको हो ।
यसैगरी गोरखापत्रले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र 'द्रुतमार्ग निर्माणमा छानिए ६ परामर्शदाता' शीर्षकका अन्य दुई समाचारसमेत प्रमुख पृष्ठमा समाचार समेटेको छ ।
नागरिक दैनिकमा 'जेब्राक्रस कि मृत्युरेखा' शीर्षकमा मुख्य समाचार प्रकाशित छ । समाचारमा लेखिए अनुसार कतिपय मुलुकमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको मृत्यु भएमा हत्या मानि चालकलाई सोही अनुसार कारबाही हुने चलन रहेको तर नेपालमा भने जेब्राक्रस वा अन्यत्र ठक्कर दिए पनि एकै किसिमको सजाय हुने भएकाले चालकको लापरबाही कम हुन नसकेको देखिएको छ । बेलायतमा सडक पार गर्ने जेब्राक्रसमा यात्रु पुगेपछि सवारीसाधन रोकिनुपर्छ, यात्रुले सडक पार नगरेसम्मअघि बढ्न पाइँदैन ।
बेलायतमा ड्युटीमा नभएका दमकल, प्रहरी र एम्बुलेन्सलाई समेत यस्तो नियम लागू हुने र द हाइवे कोर्ट अन्तर्गत कारबाही हुने प्रावधान रहेको पत्रिकाले लेखेको छ ।
नागरिकले प्रधानमन्त्री आइसियुमै, स्वास्थ्य स्थितिमा क्रमिक सुधार र राष्ट्रियसभा सदस्य एक तिहाइको निर्वाचन माघभित्रै शीर्षकका समाचारसमेत प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकले ‘ग्यास बुलेटमा दुई अर्ब डुब्यो’ शीर्षकमा मुख्य समाचार छापेको छ । भारतीय पक्षको आनाकानीका कारण नेपाली ग्यास व्यवसायीको झन्डै दुई अर्ब डुबेको हो । समाचारमा लेखिए अनुसार नेपालमा संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दीपछि तत्कालिन सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन बुलेट राख्ने निणर्य गरेसँगै ग्यास व्यवसायीले पनि आयल निगमबाट ७ सय ७२ वटा बुलेटका लागि अनुमति पाएका थिए ।
त्यतिबेला एक थान बुलेटका लागि नगद १५ हजारका दरले व्यवसायीले एक करोड १५ लाख ८० हजार बुझाएका थिए । तर अनुमति लिएकामध्ये ५५ वटा बुलेट निर्माण भएर तीन वर्षदेखि थन्किएका छन् । समाचारमा उल्लेख भएअनुसार ५३ बुलेट भारतका हरियाणा, राजापुर, बडौंदा, पुणे र दिल्लीमा राखिएका छन् भने बााकी दुई बुलेट नेपाल भित्रिएपनि सञ्चालनमा आउन सकेका छैनन् ।
अन्नपूर्णले ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा शीर्षकको अनतराष्ट्रिय समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमै छापेको छ ।