काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सागका खेलाडीहरुलाई खेलबाट देशको इज्जत राख्न अनुरोध गर्नुभएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई हौसला दिनुभएको हो । प्रधानमन्त्रीले सन्देशमा उपचारमा अरु १० दिन लाग्ने र स्वास्थ्य सुधार भइरहेकाे बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा साग हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएको र उद्घाटन गरिदिनु भएकामा राष्ट्रपति विद्या भण्डारीलाई पनि धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्रीको भिडियो सन्देश यस्तो छः‘एपेण्डीसाइटिस् भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।
हिजो मैले १३औँ ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकाेमा खुशी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’
–केपी शर्मा ओलीप्रधानमन्त्री(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)
https://www.youtube.com/watch?time_continue=18&v=QVF8XjZaM_8&feature=emb_logo