काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । प्रायजसो पत्रपत्रिकाहरुले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई मिलेको सफलताकै विषयलाई प्रमुख समाचार बनाएका हुन् ।
बिहीबार जनता समाचार डट कम मा आगलागीबाट ४ घर जल्दा १० लाख बराबरको क्षती, ‘अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने’, जापानीज भाषामा एकजना पास, सिप परीक्षणमा सबै फेल, युवाहरुद्वारा बाह्र घण्टे मौन ब्रत, विमानस्थलमा ४३८ जनालाई रोजगारी खुल्यो, पर्यटकको पर्खाइमा अर्घाखाँचीको मालारानी र थुनाबाट भागेका मध्ये ४ जना समातिए लगायतका विषयमा प्रमुख समाचार प्रकाशन गरिए ।
गोरखापत्र दैनिक मा राहदानी सेवा प्रभावकारी बन्दै शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएको छ । समाचारअनुसार राहदानी विभागमा पछिल्लो समय राहदानी बनाउनेको भींड घट्न थालेको छ । विभागले आफ्नो सेवामा चुस्तता ल्याएका कारण काम फटाफट हुन थालेको र भींड न्युन हुँदै गएको देखिएको हो । पहिले - पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीले बताएका छन् । तर द्रुत राहदानी सेवाका लागि लाग्ने शुल्क भने महँगो भएको सेवाग्राहीको गुनासो रहेको छ ।
राहदानी विभागले द्रुत सेवाबाट राहदानी प्राप्त गर्न १० हजार, दुई दिनमा पाउन सक्नेको १२ हजार र एकै दिनमा प्राप्त गर्न सक्ने सेवाका लागि १५ हजार रुपैयाँ शुल्क लिइरहेको छ । पछिल्लोसमय सजिलै ३ दिनमे राहदानी पप्त गर्ने भएपछि सेवागही खुशी भएका छन् ।
राजधानी दैनिक मा ‘ओलम्पियन गौरिकाको ऐतिहासिक पदक’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा उल्लेख भएअनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एकपछि अर्को खेलमा नयाँ किर्तिमान बनाइरहेको छ । नेपालले पहिलोपटक पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको हाे । पौडीतर्फ व्यक्तिगत स्पर्धामा गौरिका सिंहले पहिलो स्वर्ण जितेकी हुन् ।
सन् २०१६ को रियो ओलम्पिकमा ‘विश्वकै कान्छी खेलाडी’ बनेकी नेपालकी गौरिका सिंहले १३ औं सागमा पौडीको २०० मिटर फ्रि-स्टाई व्यक्तिगत स्पर्धामा स्वर्ण जितेकी हुन् । उनले सर्ट कोर्समा आफ्नो रेकर्ड पनि सुधार गरेको पत्रिकामा लेखिएको छ । राजधानीले प्रधानमनत्री १० औं दिनमा अस्पतालबाट डिस्चार्ज भएको र अत्यावश्यक काम बालुवाटारबाटै गर्ने विषयमा पनि मुख्य समाचार बनाएको छ ।
कान्तिपुर दैनिक ले ‘व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार राष्ट्रिय अनुसन्धान विभागले सार्वजनिक पद धारण गरेका र विभिन्न पेसा तथा व्यवसायमा संलग्न रहेका व्यक्तिहरुको तीपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षा सम्बन्धि सूचना संकलन गर्दै आइरहेको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो ।
पूर्व गृहसचिव गोविन्द कुसुमले गुप्तचरलाई नागरिकको आर्थिक विवरण संकलनमा खटाउँदा सरकार निरंकुश बन्ने खतरा रहने बताउनुभएको तर राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भने सरकारले लिएको निर्णय सही भएको र सुशासन तथा अपराध नियन्त्रणमा यो महत्वपूर्ण कदम रहेको बताउनुभएको कान्तिपुरले लेखेको छ ।