नारायण थापा भक्तपुर । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुर्यविनायक नगरपालिकाले ८ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवर्द्धनमा अहम भूमिका’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रत्येक वडाबाट एक–एक जनाका दरले ८ जनालाई सम्मानपत्र र नगद ३ हजारसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सानु बिष्ट, सबिता थापा, रेणु राजथला, यशोदा वाग्ले, धनदेवी श्रेष्ठ, रामप्यारी थापा, लक्ष्मी महत र द्रौपता कार्की रहेको नगरपालिकाका स्वास्थ्य संयोजक वसन्त चापागाईंले बताउनुभयो ।
स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाको तर्फबाट नगरप्रमुख वासुदेव थापाले सम्मानित गर्नुभयो । थापाले आधारभूत निशुल्क र गुणात्मक स्वास्थ्य सेवा प्रदानमा स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा वडाध्यक्ष किरण थापाले नगरपालिकाले स्वास्थ्य स्वयंसेविकासँग बृहत अन्तरक्रिया गरी सक्दो सुविधा प्रदान गर्न ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नगरपालिकाका प्रवत्ता उपेन्द्र केसी, नगरपालिकाका कर्मचारी शाखा प्रमुख आरती न्यौपाने लगायतले गुणात्मक स्वास्थ्य सेवा प्रदानमा स्वास्थ्य स्वयंसेविकाले समुदायमा खेलेको भूमिका महत्वपुर्ण रहेको बताउनुभएकाे छ ।
नगरपालिकाले हरेक स्वास्थ्य स्वयंसेविकालाई महिनाको एक हजार प्रोत्साहन भत्ता दिँदै आएको स्वास्थ्य संयोजक बसन्त चापागाईँले जनाकारी दिनुभएकाे छ ।