हरिशरण न्यौपानेकाठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । दुइ बैंकको मर्ज समारोहमा अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरूले मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको समेत बताउनुभयो ।
बैंक मर्ज समाराेहमा बाेल्नुहुँदै मन्त्री खतिवडाले सेवाग्राहीका लगि ठूलो आकारको बैंक हुँदा सहज हुने धारणा राख्नुभयाे। उहाँले अल्पकालिन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठूलो पूँजी निर्माणका लागि ठूलो बैंक आवश्यक रहेको बताउनुभयो । ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउनसमेत मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मर्जपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले बैंकहरुले प्रविधिमा लगानी बढाइ पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्नेसम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
बैंकिङ इतिहासकै ठूलो मर्जरबैंकिङ इतिहासमा शुक्रबार नेपाल राष्ट्र बैंकले थालेको बीग मर्जरले सार्थकता पाएको छ । जनतासँग मर्ज भएपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाको उपस्थितिमा शुक्रबार जनतासँग ग्लोबल आइएमईको बीग मर्जर सम्पन्न भएसँगै ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ४३ करोड पुगेको छ ।
गत आर्थिक वर्षको नाफाबाट घोषित बोनस प्रदान गरेपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ । मंसिर २ गते सम्पन्न ग्लोबलले साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२ दशमलव सात पाँच प्रतिशत र जनताले ६ प्रतिशत बोनस शेयर दिने निर्णय पारित गरिसकेका छन् । ग्लोबलले मुनाफा बाहेक पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायत सबै सूचकमा सबै वाणिज्य बैंकहरुलाई पछाडि पारेको छ ।
बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा १ खर्ब ९४ अर्ब पुगेको छ । बैंकको एटिएम संख्या २५९ पुगेको छ । बैंकमा कर्मचारी संख्या ३ हजार २ सय नाघेको छ । बैंकको जगेडा कोषको आकार करिब ६ अर्बको हुनेछ । बैंकको अध्यक्ष यसअघि ग्लोबलकै अध्यक्ष रहेका चन्द्र ढकाल हुनुभएको छ । बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी यसअघि जनता सम्हालेका पर्शुराम कुँवरले पाउनुभएको छ । यसअघि जनता र ग्लोबल आइएमईमा गरी डेढ दर्जन बैंक तथा वित्तीय संस्था मर्ज भइसकेका छन् जनता र ग्लोबल आइएमई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जपछि अब जनताको १ सय कित्ता शेयर हुने लगानीकर्ताले ग्लोबल आइएमईको ८५ कित्ता पाउने छन् । राष्ट्र बैंकले मर्जका लागि प्रोत्साहन गरेपछि यो सबैभन्दा ठूलो मर्ज हो । यो मर्जसँगै जनता बैंक विलय भएको छ । मुलुकमा वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।