काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ ।
सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको हो । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।
सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरी विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ ।
बैठकमा संगठन विभागको तर्फबाट कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्स गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
नेकपाले उपनिर्वाचनको समिक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समिक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समिक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समिक्षा नभएको श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्द्रीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सबै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।
श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई विशेष दुत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताउनुभयो ।